-भक्तराज रसाइली
काठमाण्डौ । बहुप्रतिक्षित मार्जिन कारोबार सुविधा धितोपत्र दलाल व्यवसायी(ब्रोकर)कै कारण  ढिलाई भएको रहस्योद्घाटन भएको छ । 

मार्जिन कारोबारको ब्याकअफिस सिस्टम बनाउन ब्रोकरहरुले ढिलाई गर्दा यो प्रक्रिया नै अपेक्षित रुपमा अगाडि बढ्न नसकेको हो ।

मार्जिन कारोबार सुविधा लिन उल्लेख्य संख्यामा लगानीकर्ताहरुले चाहिरेका छन् । तर, यो सुविधाका लागि चाहिने आवश्यक सिस्टम निर्माणमा ढिलाइ भइदिदा यो सेवा सुचारु हुन नसकेको हो । 

हालसम्म नेप्सले मार्जिन कारोबार सेवा संचालन गर्न क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज, भिजन सेक्युरिटीज, सेक्युर्ड सेक्युरिटीजलाई अनुमति दिइसकेको छ । 

सिडिएससीका सीइओ देवप्रकाश गुप्ताले आफ्नो तर्फबाट मार्जिन कारोबार खाताका लागि आवश्यक सिस्टमको पूर्ण तयारी भइसकेको जानकारी दिए । ‘सिस्टमको कार्यविधि हामी यही हप्ताभित्र बस्ने सञ्चालक समितिको बैठकद्वारा पास गर्दैछौं ।’–उनले भने ।

मार्जिन कारोबार सुविधाका लागि इच्छुक लगानीकर्ताहरुले मार्जिन कारोबारका लागि अनुमति पाएका ब्रोकरहरुकहाँ निश्चित शुल्कमा मार्जिन कारोबार खाता खोल्नुपर्ने हुन्छ र सो सुविधा उपलब्ध गराएका ब्रोकरले दैनिक रुपमा नेप्सेमा प्रतिवेदन पेश गर्नुपर्दछ । 

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले भने ट्रयाल सिस्टम तयार भइसकेको र अब एकपटक नेप्सेलाई देखाउन लागेको जानकारी दिए । नयाँ सिस्टम भएकाले सावधानीका लागि नेप्सेबाट भेरिफाई भइसकेपछि मात्र सेवा सुचारु गर्न सकिने उनको भनाई छ ।