काठमाण्डौ । लगानी बढाउन चाहने लगानीकर्ताका लागि चौतर्फी अन्यौलले घेराबन्दी गरेको छ । बजार संचालक तथा नियामकहरुले अगाडि सारेका नीति उनीहरुभन्दा माथिल्लो निकायबाट हुने चलखेलबाट धमाधम तुहिँदै गएका छन् । 

पूँजीगत लाभकरदेखि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्ससम्मका मुद्धा एकाएक तुहिएपछि, अपेक्षित रुपमा बैंकको ब्याजदर नघटेपछि र बैंकहरुको नाफा तथा आम्दानीमै गम्भीर असर हुने गरी राष्ट्रबैंकले सर्कुलर जारी पछिको अवस्थामा समेत लगानीकर्ता उति सारो अत्तालिइहालेका भने छैनन् । 'लगानीकर्ताको मनोबल उक्सिने काम भएको छैन, यो सत्य हो, तर उनीहरु अत्तालिएर बजार नै गल्र्यामगुर्लुम हुने अवस्था भने छैन ।' एक बजार विश्लेषकले बिजशालासँग भने-'लगानीकर्ताहरु १२०० को बटमलाइनबाट बजार तल ओर्लदैन भन्ने मनोविज्ञानमा टिकेका देखिएको छ, यो राम्रो पक्ष हो।' 

प्राविधिक विश्लेषकहरुले पनि बजार १२०० मुनि नजाने दाबी गरिरहेका छन् । फण्डामेन्टल कोणबाट विश्लेषण गर्नेहरुको कुरा समेत प्राविधिक विश्लेषकहरुसँग मिलेको छ । त्यसकारण बजार केही समयसम्म १२०० र केही माथिकै सेरोफेरोमा घुमिरहने आँकलन गर्न सकिन्छ । 

विश्लेषकहरुले बजारमा कतिपय सेयरहरुको खरीदबिक्रीमा तीव्र मोलमोलाई भइरहने प्रवृति समेत देखिएको दाबी गरेका छन् । 'थोरै मार्जिनमा समेत खरीद र बिक्रीकर्ताको घम्साघम्सी चलिरहेको छ । बेच्ने भरसक घटाएर बेच्न तयार छैन भने किन्ने भरसक घटाएर किन्ने दाउमा छ ।' विश्लेषकहरु भन्छन्-'यसले समेत बजारमा चमक आउन सकेको छैन ।'

यही बेला ठूला र संस्थागत लगानीकर्ता पर्ख र हेरको रणनीतिमा छन् भने कतिपय लगानीकर्ता उतारचढावपूर्ण सेयर बजारमा तत्काल लगानी गरेर अन्यौलमा फस्नु भन्दा लगानीका अन्य विकल्पतर्फ केन्द्रीत हुँदै जाँदा समेत बजारमा भनेजस्तो चमक आउन नसकेको देखिन्छ । 

बजारको निरन्तरको गिरावट बुधबार थामिएको छ । यो दिन नेप्से परिसूचक ०.४२ को झिनो अंकले उक्लिएको छ । सेन्सेटिभ इण्डेक्स ०.२२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स स्थिर देखिएको छ । 

यो दिन चारवटा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । 

ट्रेडिङ समूह ७.१ अंकले बढेको यो दिन विकास बैंक समूहमा ०.४५ अंक, बित्त समूहमा ०.१ अंक र अन्य समूहमा ६.९१ अंकले बढेको छ।

बैंकिङ समूह ०.०४ अंकले घटेको यो दिन होटल समूहमा १५.१८ अंक, जलविद्युत समूहमा २.३५ अंक, निर्जीवन बिमा समूहमा ५.९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.४४ अंक, माइक्रोफाइनान्स समूहमा १.२४ अंक, जीवन बिमा समूहमा ६.७८ अंक र म्युचुअल फण्ड समूहमा ०.०४ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६१ कम्पनीका १२ लाख ७० हजार ११८ कित्ता सेयर २९ करोड २६ लाख ४१ हजार ७१८ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सोल्टी होटल लिमीटेडले सबैभन्दा बढी ४ करोड  २० लाख बढीको कारोबार गरेको छ । 

यस्तै, माछापुच्छ्रे बैंकले २ करोड ८५ लाख, एनआइसी एशिया बैंकले १ करोड ७२ लाख, नवील बैंकले १ करोड ६ लाख, रसुवागढी जलविद्युत आयोजनाले ९४ लाख, कृषि विकास बैंकले ८९ लाख, महालक्ष्मी विकास बैंकले ७७ लाख, शिवम् सिमेन्टले ७१ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ६७ लाख र नागरिक लगानीकोषले ६२ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
अघिल्लो दिन झै यो दिन पनि विशाल बजार कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य  ६ प्रतिशतको हाराहारीमा बढ्यो । 

न्यून लाभांश प्रस्तावका कारण गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.४४ प्रतिशतले घट्न पुग्यो ।