काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफूबाट जारी निर्देशन लामो समयसम्म पनि कार्यान्वयन नभएको भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई सातदिने अल्टिमेटमसहित कार्यान्वयनका लागि ताकेता गरेको छ ।

बोर्डले पछिल्लोपटक २०७४/७५ दिएका निर्देशनमध्ये प्रभावकारी कार्यान्वयन नभएका पाँच बुँदामा भएका प्रगतिको पछिल्लो विवरण सात दिनभित्र उपलब्ध गराउन सीडीएससीलाई निर्देशन दिएको हो । बोर्डको अल्टिमेटममा धितोपत्र खरिदबिक्रीपश्चात् हुने कारोबार राफसाफ तथा फछ्र्यौटको तीन कार्यदिन (टी प्लस ३) लाई घटाई एक कार्यदिन (टी प्लस १) मा धितोपत्रको कारोबार प्रभावकारी बनाउने र सेटलमेन्ट ग्यारेन्टी फन्डको भुक्तानी सुनिश्चितताको प्रभावकारी बनाउनेलगायत विषय भएका प्रगतिका बारेमा आफ्नो पछिल्लो अपडेट उपलब्ध गराउन सीडीएसपीलाई निर्देशन दिएको छ ।

त्यस्तै सीडीएससीको सिस्टम अडिट, भारित औसत लागत गणना विधिको सिस्टम सञ्चालनको प्रगतिबारे पनि अद्यावधि गराउन पनि बोर्डले निर्देशन दिएको छ । उता सीडीएससीले भने अबको यही साताभित्र यो प्रणालीको लन्च गर्ने तयारी गरिरहेको छ ।

बोर्डले सुपरीवेक्षण म्यानुअल तयार गरी सोबारेमा जानकारी गराउन पनि सीडीएसपीलाई निर्देशन दिएको छ ।

बोर्डले पछिल्लो समय पुँजीबजारमा देखिएको विकृति र बजार स्थायित्वका लागि तदारुकता देखाउँदै गत भदौ २६ गते सीडीएससीलाई पत्र काटेको हो ।