काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै अर्थतन्त्रका मुख्य सूचकहरुमा सुधारको संकेत देखिएको छ ।
नेपाल राष्ट्रबैंकले मंगलबार जारी गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिमा यस्ता सुधारका संकेतहरु देखिएका हुन् ।
समीक्षा अवधिमा आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यातको वृद्धिदर २७.७ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु निर्यात २७.७ प्रतिशतले वृद्धि भई रु.८ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यातमा ९.२ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु आयात ११.५ प्रतिशतले घटेर रु.१०६ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १३.९ प्रतिशतले संकुचन भई रु.९७ अर्ब ८९ करोड कायम भएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ५.७ प्रतिशत रहेको थियो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २ प्रतिशत र अमेरिकी डलरमा ०.७ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह २.० प्रतिशतले वृद्धि भई रु.७५ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.० प्रतिशतले बढेको थियो ।
लामो समयदेखि घाटामा रहेको शोधनान्तर स्थिति रु.६ अर्ब ५ करोडले बचतमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४ अर्ब ७७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता घाटा रु.९ अर्ब ३७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२५ अर्ब १६ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८ करोड ४० लाखले घाटामा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको रु.१०३८ अर्ब ९२ करोड बाट वृद्धि भई २०७६ साउन मसान्तमा रु.१०६४ अर्ब ६४ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ साउन मसान्तमा ९ अर्ब ३८ करोड रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago