काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सानिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सोही बोनस सेयरका लागि नेप्सेले बैंकको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३१५ रुपैयाँ कायम गरेको छ । समायोजित सेयरमूल्यअनुसार नै बैंकको सेयर सोमबार दोस्रो बजारमा कारोबारमा आउने छ ।

गत वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित गर्ने मुख्य अजेन्डासहित सानिमा बैंकले यही असोज २९ गते १५ औँ वार्षिक साधारणसभा गर्दैछ ।

बैंकको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति, स्थान र समय तय गरेको हो । जसअनुसार बैंकको साधारणसभा बिहान ११ बजे काठमाण्डौको नक्सालमा हुनेछ।

साधारसभामा विशेष प्रस्तावका रुपमा राखिने गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्ने भनिएको १० प्रतिशत बोनस सेयर पारित हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १० प्रतिशतले हुन आउने ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँबराबरको बोनस सेयर आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै साधारणसभाले चुक्तापुँजीको ११.०५ प्रतिशतले हुन आउने ८८ करोड ४३ लाख ४९ हजार २८५.४७ रुपैयाँबराबरको (लाभांश करसहित) नगद लाभांशको प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वार्षिक वित्तीय विवरण, एकीकृत वित्तीय विवरणलगायत महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित हुनेछ ।