काठमाण्डौ । वार्षिक नवीकरण शुल्क नतिरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबारदेखि लागू हुने गरी ८१ वटा कम्पनीका सेयर कारोबार रोक्का गरेको छ ।

कारोबार रोक्का गरिएकामा नेपाल दूरसञ्चार र युनिलिभर नेपालजस्ता ठूला कम्पनी पनि छन् । दूरसञ्चार कम्पनी नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बजार पुँजीकरणको हिसाबले ठूलो कम्पनी हो भने युनिलिभर नियमित रुपमा सेयरधनीहरुलाई उच्च प्रतिफिल दिने कम्पनी हो ।

नेप्सेमा कुल २१७ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नवीकरण शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ । तोकिएको समयमा नवीकरण शुल्क नबुझाए त्यस्ता कम्पनीको सेयर कारोबार रोक्का गर्ने अधिकार नेप्सेलाई रहेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेको जनाएको छ । करोबार रोक्का हुनेमा १९ लघुवित्त, १८ विकास बैंक , १३ जलविद्युत कम्पनीहरु, १२ फाइनान्स कम्पनी, ११ उत्पादन तथा प्रशोधन र २/२ व्यापार, होटल, बीमा र अन्य रहेका छन् ।

धितोपत्र सुचीकरण विनियमावली २०७५ मा ५० करोड रुपैयाँ बरावरको शेयर सुचीकृत कम्पनीले वार्षिक रुपमा नविकरण शुल्कवापत ५० हजार रुपैयाँ र त्यसभन्दा धेरै चुक्तापुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ ।

२०७६ साउनसम्ममा नेप्सेमा ४ अर्ब ३४ करोड कित्ता सेयरको सूचीकृत भएका थिए । सो अवधिमा सूचीकृत भएका सेयरको चुक्ता मूल्य ४ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।

कारोबार रोक्का गरिएको कम्पनीहरुको सूची हेर्नुहोस् –