काठमाण्डौ । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईएसपान) ले वृद्धवृद्धा र अशक्तबाहेक अन्य प्रयोगकर्तालाई इन्टरनेट शुल्क अनलाइनमार्फत भुक्तानी गर्न आग्रह गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत शुक्रबार लकडाउन अवधिमा पैसा सकिए पनि इन्टरनेट सेवा सुचारु राख्न सबै सेवा प्रदायकलाई निर्देशन दिएको थियो। आईएसपानले आइतबार विज्ञप्ति जारी गर्दै शारीरिक रुपमा अशक्त, घरमा सहयोगी नभएका वृद्धवृद्धाको हकमा सरकारले नभने पनि सेवा निरन्तर गरिरहेकाले अनलाइनबाट भुक्तानी गर्न सक्ने अन्य सेवाग्राहीले भने डिजिटल भुक्तानी गरिदिन आग्रह गरेको हो।

आईएसपानले अहिलेको विषम परिस्थितिमा इन्टरनेट अत्यावश्यक सेवा भएकाले सक्दो प्रयास गरेर सेवा दिन लागिपरेको जनाएको छ। तर मासिक भुक्तानी नआउँदा आफूहरुले पनि कर्मचारी र आफूमाथिको विदेशी सेवाप्रदायकलाई भुक्तानी गर्न नसक्दा सेवा प्रवाहमा असर पर्नसक्ने भएकाले विद्युतीय माध्यमबाट भए पनि भुक्तानी गरिदिन अनुरोध गरिएको प्रस्ट पारेको छ। 

अहिले प्रायः सेवाग्राहीहरुसँग अनलाइन वा डिजिटल भुक्तानी पहुँच भएकाले र अहिले अनलाइन भुक्तानीलाई प्रवद्र्धन गर्ने सुनौलो अवसर भएकाले पनि ई–पेमेन्ट गरिदिएर निरन्तर सेवा प्रवाहमा सहयोग गर्न आइएसपानका अध्यक्ष भोजराज भट्टले आग्रह गरेका छन्।

इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको ब्यान्डविथलगायत विभिन्न प्राविधिक सेवाहरु विदेशी कम्पनीहरुबाट लिएर नेपालका ग्राहकलाई सेवा प्रदान गरिरहेका छन्। प्रायः यहाँ इन्टरनेट सेवा प्रदायकहरुले भारतीय कम्पनीबाट ब्यानविथ खरिद गरेर ल्याएका छन्। त्यसमा टाटा र एयरटेलको हिस्सा सबैभन्दा ठूलो छ भने सीफी कम्युनिकेसनबाट पनि ब्यान्डविथ किनेका छन्।