काठमाण्डौ। काठमाण्डौको महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

चार दिनअघि स्वाब परीक्षण गरिएका कालीमाटी वृत्तका सई र जवानमा संक्रमण देखिएको हो। कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँभित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु तथा स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ। 

अहिले कालिमाटी वृत्त र सोमातहत रहेका २५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। ती स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको पनि उनले सुनाए। 

संक्रमित दुवैजनालाई सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। 

यसैबीच कोरोना संक्रमित भेटिएपछि भक्तपुर नगरपालिका–५ ल्योसिखेललाई सिल गरिएको छ। आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर दुईजना प्रहरी पनि तैनाथ गरिएको छ। 

मंगलबार भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी काठमाण्डौ महानगरपालिकाका गाडी चालकमा कार्यरत छन्। उनलाई राति नै अस्पताल लगिएको र परिवारका सदस्य तथा उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको तयारी भइरहेको बताइएको छ।