काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनमा अप्ठ्यारो परिस्थिति बाबजुद काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाका एक युवक आफ्नो क्षेत्रका बिरामीहरुलाई समयको पर्वाह नगरी अस्पतालमा पुर्याउने काममा दिनरात नभनी खटिए। तर सोमबार बिहान उनी आफैँलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालय सोमबार बिहान थप ७२ जनामा कोरोना संक्रमण देखिएको नतिजा निकाल्यो। जसमा यिनै बूढानीलकण्ठका समाजसेवी ३५ वर्षीय युवा पनि परेका छन्।

लकडाउनको अवधिमा ती युवा आफ्नो निजी गाडीमा अप्ठ्यारोमा परेका बिरामीलाई अस्पतालसम्म पुर्याउने र अस्पतालबाट ल्याउन काम गर्थे। ‘यस्तो परिस्थितिमा आफ्नो स्वास्थ्यको पर्वाह नगरी उनी निरन्तर समाजसेवामा खटिए, धेरैपटक आफ्नो गाडीमा थुप्रै बिरामीलाई अस्पताल पुर्याए’, बूढानीलकण्ठका नगरपालिकाका मयेर उद्धवप्रसाद खरेल भन्छन्, ‘आज उनैलाई यो संक्रमण देखियो।’

अहिले ती संक्रमित युवाको सम्पर्कमा आएकाहरूको विवरण लिने काम भइहेको खरेलले बताए। 

त्यसो त यसअघि नगरपालिकाले उनीसँगै ९० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो। जसमा ४४ जनाको रिपोर्ट आउँदा एकजनाको पोजेटिभ देखिएको हो। बाँकी ४६ जनाको रिपोर्ट आउन बाँकी रहेको मेयर खरेलले जानकारी दिए।