काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्डको एफपीओले सोचेभन्दा खराब प्रदर्शन गरेको खबरको प्रभावले बुधबार दोश्रो बजारमा सेयर खरीदको चाप ह्वात्तै बढेको छ । यो बैंकको एफपीओमा लगानी गर्नुभन्दा दोश्रो बजारमा राम्रो कम्पनीको सेयर खरीद गर्नु उचित ठानेका लगानीकर्ताहरु सक्रिय बन्दा बजार बजार परिसूचक ९.०४ अंकले बढेको छ भने सबै समूहमा हरियाली छाएको छ । 

नियमित र स्वभाविक कारोबारको हिसाबले कारोबार रकम पनि बढेको छ । मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको २१ करोडको हाराहारीमा संस्थापक सेयरको कारोबार हुँदा मात्र समग्र कारोबार रकम निकै माथि पुुगेको थियो । त्यसलाई एउटा संयोग मान्दा समग्रमा बुधबारको कारोबारमा सुधार देखिएको हो । नेप्से परिसूचक र कारोबारमा देखिएको यो सुधारले भविष्यमा बजार केही माथि जाला कि भन्नेमा लगानीकर्ता आशावादी देखिएका छन् । 

बुधबार सबै समूहको परिसूचक सामान्य अंकले बढेका छन् । वाणिज्य बैंक समूह ७.६७ अंकले बढेको छ भने बिमा समूहमा ३७.१७ अंकको बढोत्तरी देखिएको छ । यस्तै, होटल, विकास बैंक, जलविद्युत, बित्त समूह क्रमशः १४.४, ०.८८, ६२.१५ र ५.०३ अंकले बढेका छन् । उत्पादनमूलकमा ३.०१ अंकको वृद्धि देखिएको छ भने अन्य समूह ६.०७ अंकले बढेको छ । 

क वर्गका कम्पनीको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स १.८२ अंकले बढेको छ भने फ्लोट इण्डेक्समा ०.६४ अंकको बढोत्तरी देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय २६ कम्पनीका कुल ८ लाख ५५ हजार ५ सय १ कित्ता सेयर ३६ करोड ८९ लाख बढी मूल्यमा किनबेच भयो । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड ६१ लाखको संस्थापक सेयर किनबेच भयो । यस्तै, एशियन लाइफ इन्स्योेरेन्सले ३ करोड ७६ लाख, नेशनल लाइफ इन्स्योरेन्सले २ करोड १८ लाख, सानिमा बैंकले १ करोड ८७ लाख, एनसीसी बैंकले १ करोड ७० लाख, लक्ष्मी बैंकले १ करोड ४२ लाख बढीको कारोबार गरे । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंकले, चार स्थान बिमा कम्पनीले र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार नेशनल हाइडोपावर कम्पनी लिमीटेडले पैसा छाप्यो । यो कम्पनीको सेयर मूल्य ९.४५ प्रतिशतले वृद्धि हुँदा लगानीकर्ता मालामाल भए । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्यमा पनि ८.०९ प्रतिशतको बढोत्तरी भयो । बुटवल पावर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

सेती फाइनान्स लिमीटेडको सेयर मूल्यमा भने सबैभन्दा धेरै ३.६१ प्रतिशतको गिरावट आयो । यस्तै, कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले समेत ३.३३ प्रतिशतले सम्पत्ति गुमाउन पुुगे ।