काठमाण्डौ । अब संसारको जुनसुकै कुनाबाट ब्रोकरकहाँ केवाइसी (कारोबार खाता) र अनलाइन युजर लिन सकिने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले अनलाइन रजिष्ट्रेसन फर्म जुनसुकै ब्रोकर कम्पनीको टीएमएस लगइनबाट इन्टरनेटका सहायताले केवाइसी फर्म भर्न र अनलाइन लगइन लिन मिल्ने बनाएको हो । 

कोरोनाभाइरसको जोखिमबाट बच्न र संक्रमणलाई रोकथाम गर्न नेप्सेले अनलाइनबाट ब्रोकरको केवाइसी फर्म र अनलाइन प्रणालीमा समाहित हुन अनलाइन युजर आइडी लिनसकिने व्यवस्था आइतबारदेखि लागू गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
 
ब्रोकर कम्पनीहरुका आफ्नै वेबसाइटबाटै अनलाइन केवाइसी र अनलाइन युजरको निम्ति आवेदनको व्यवस्था गर्दै गर्दा नेप्सेले टीएमएसमा नै यो सुविधा राख्नु निकै सकारात्मक रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटको भनाइ छ । 'यसबाट लगानीकर्ता र ब्रोकरलाई यो व्यवस्थाको सहजताले जोड्ने सेतूको काम गरेको छ।'-अध्यक्ष रानाभाटले बिजशालासँग भने ।

कुनै पनि ब्रोकर कम्पनीको टीएमएसमा रहेको अगाडिको लगइन पेजमा नै रजिष्टर नाउ भन्ने अप्सन रहेको छ । सो रजिष्टर नाउ भन्ने अप्सनमा क्लिक गरेपछि अनलाइन रजिष्ट्रेसन फर्म संसारका जुनसुकै कुनाबाट आवेदन गर्न सकिन्छ ।
 
उक्त अनलाइन रजिष्ट्रेसन फर्ममा लगानीकर्ताको सामान्य जानकारी, ठेगाना, बैंक विवरण, प्रडक्ट विवरण, डीपी विवरण र डकुमेन्ट अपलोडका अप्सनहरु भरेपछि सबमिट गर्नुपर्छ ।