 
                     
                                
                             
                                    चितवन । जिल्लामा कोरोना संक्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो।
केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल संक्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन। यो सङ्ख्या आजसम्म संक्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ। संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति संक्रमित भएको पाइएको तिवारीले बताए। यसलाई हेर्दा संक्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ।
त्यसबाहेक संक्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा संक्रमण भएको बताएको तिवारीले जानकारी दिए। उनले भने, “जिल्लामा जम्मा संक्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो।”
अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १११ मा संक्रमण देखिएको छ। कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको संक्रमण बढ्दो क्रममा रहेको छ। घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा संक्रमण फैलिएको पाइएको छ।
अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा भनिएको छ, “पसलको सामान ढुवानी गर्ने, सामान बेच्ने, तरकारी बजार जाने, सवारी चालक, कोभिड परीक्षण नगरी बाहिरबाट आएका कामदार, जिल्ला बाहिर गएर आएका र अग्रभागमा रहेको प्रत्यक्ष सेवा दिने बैंक, वित्तीय संस्था, विद्युत् प्राधिकरणका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।”
अध्ययनले अस्पताल उच्च जोखिममा देखिएपछि कोभिड संक्रमण फैलन नदिनका लागि आन्तरिक कार्ययोजना बनाएर काम गर्ने विषयमा जिल्लामा रहेका अस्पतालसँग छलफल भइसकेको तिवारीले जानकारी दिए।
संक्रमण फैलिन नदिन अस्पतालमा जाँदा बिरामीको साथमा एक कुरुवा मात्र पठाउनुपर्ने, कुरुवा फेरिन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा बसेका व्यक्तिहरु कम्तीमा एक हप्ता होम क्वारेन्टिन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजान केन्द्रको सुझाव छ। परिवारका सदस्यहरुलाई अन्य सामान्य अवस्थामा जस्तो साथीभाइसँग हिँडडुल, घुमफिर नगर्न, बजारमा घरभाडामा बस्ने व्यक्तिहरुले आफ्नो घरमा भाडामा बस्ने र घरधनी व्यक्तिहरु संक्रमणको जोखिम हुने गरी अन्यत्र आवतजावत गरे/नगरेको यकिन गर्नुपर्ने सुझाव दिइएको छ।
रोग नियन्त्रणका लागि पसलमा बसेर सामान बेच्दा सामान किन्न आउने ग्राहकसँग सावधानी अपनाउन, मास्क लगाउन, पैसा लिँदा अलग्गै टोकरीमा राख्नेजस्ता व्यवस्था मिलाउन केन्द्रको सुझाव छ। सब्जीमन्डीमा हुने भीडभाड नियन्त्रण गर्नुपर्ने, उद्योगमा बाहिरबाट कामदार ल्याउँदा स्वास्थ्य परीक्षण गराएर मात्र उद्योगमा प्रवेश गराउन, कच्चा पदार्थ ल्याउँदा र तयारी सामग्री बाहिर पठाउँदा हुने लोडअनलोडबाट संक्रमण नभित्रिने गरी प्रबन्ध मिलाउनुपर्ने, विद्युत् मर्मत सेवा, सरकारी कार्यालय र बैंकहरुमा अग्रभागमा बसेर ग्राहकलाई सेवा दिने व्यक्तिको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने केन्द्रको सुझाव रहेको सदस्य तिवारीले जानकारी दिए।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लाको उच्चस्तरको समितिले विस्तृत अध्ययन गरेर कोरोना फैलिएको क्षेत्रको पहिचान गर्दै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो। जिल्लामा हालसम्म संक्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ भने १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। बाहिरी जिल्लाको सहित यो सङ्ख्या २९ पुगेको छ।
- RSS
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19