काठमाण्डौ । लोकसेवा आयोगले सञ्चालन गर्ने विभिन्न पदको परीक्षाका लागि स्वास्थ्यसहित विशेष मापदण्ड तय गरेको छ।

लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ल्याएको हो। सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाएको हो। आयोगले असोजदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृतलगायतको विज्ञापन गर्ने तयारी गरेको छ। 

पहिलो चरणको परीक्षा सकिए पनि आयोगले कोरोना महामारीका कारण दोस्रो चरणका परीक्षा स्थगित गर्दै आएको छ। अब आयोग ती परीक्षा पनि सञ्चालनको तयारीमा छ।

मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ। परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नुपर्नेछ।

यसैगरी एउटा परीक्षा केन्द्रमा एक सय परीक्षार्थी राख्ने र एउटा कक्षामा बढीमा २५ जना परीक्षार्थी राख्ने गरी व्यवस्था मिलाइने आयोगले जनएको छ। एउटा बेन्चमा एकजना परीक्षार्थी राख्ने र दुई परीक्षार्थीबीचको दूरी दुई मिटर हुने मापदण्डमा उल्लेख छ। 

परीक्षार्थी परीक्षा सुरु हुनु एक घन्टाअघि नै केन्द्रमा पुगिसक्नुपर्नेछ। मास्क, सेनिटाइजर र आफ्नो लागि खानेपानी परीक्षार्थी आफैँले लैजानुपर्नेछ।

परीक्षार्थी, केन्द्राध्यक्षलगायत सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्नेछ। परीक्षा केन्द्रमा २० थान मास्क र ५०० एमएल सेनिटाइजर र साबुनको व्यवस्था पनि आयोगले गर्दैछ।

नक्कली परीक्षार्थी प्रवेश नहोस् भन्नका लागि आयोगले उम्मेदवारको दूरी कायम गरी मास्कसमेत खोल्न लगाई पहिचान गर्ने जनाएको छ। उम्मेदवारको पहिचान यकिन गरी उत्तरपुस्तिकामा सहायक केन्द्राध्यक्षले दस्तखत गर्ने मापदण्डमा जनाइएको छ।