काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को इतिहासमै पहिलोपटक पूँजीबजारलाई हेर्ने गरी छुट्टै उपसमिति गठन भएको छ । 

नेपालको पूँजीबजारका सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले एशोसिएटतर्फबाट महासंघको कार्यकारिणी सदस्यमा सर्वाधिक मतसहित जित हासिल गरेपछि उनकै सक्रियतामा पहिलोपटक पूँजीबजारको क्षेत्रमा समेत काम गर्ने गरी फोरम बनेको हो । 

एफएनसीसीआई सचिवालयमा आज आयोजित एक विशेष समारोहका बीच अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्रसहित औपचारिक पत्र हस्तान्तरण गरेका थिए । 

यसरी गठन भएका उपसमिति तथा फोरमहरुमध्ये पूँजीबजार फोरम पनि एक हो । उपसमितिकै हैसियतमा काम गर्ने गरी बनेको यो फोरमको सभापति अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । 

'उद्योग वाणिज्य महासंघको इतिहासमै पहिलोपटक पूँजीबजारसँग सम्बन्धित फोरम(उपसमिति) बनेको हो ।' सभापति चयन भएपछि पौडेलले बिजशालासँग भने-'अब यसमा ८ सदस्य मनोनयन गरी पूर्णता दिने तयारीमा जुटेको छु ।' 

पौडेलकाअनुसार यो फोरमले पूँजीबजारको विकास र बिस्तारको क्षेत्रमा काम गर्नेछ । पूँजीबजारको विकासका लागि आवश्यक नीति निर्माणका लागि राज्यसँग आवश्यक समन्वय र पहल समेत गर्नेछ । 

पौडेलले महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिंदै गर्दा आफू पूँजीबजारको विकासका लागि निर्वाचनमा होमिएको भन्दै मतदातासँग सहयोग मागेका थिए । निर्वाचित भएपछि सोही प्रतिबद्धता पूरा गर्दै एफएनसीसीआईको इतिहासमै पहिलोपटक पूँजीबजार सम्बन्धी फोरम गठन गर्ने सफलता पाएका हुन् । 

पौडेलले महासंघमा रहँदा पनि आफू पूँजीबजारकै हित र विकासमा अहोरात्र खटिने प्रतिबद्धता दोहोर्याएका छन् ।