काठमाण्डौ । नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार डोज पाउने कोभ्याक्सले जनाएको छ। उक्त खोप अक्सफर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्।

कोभ्याक्सले बुधवार प्रकाशित गरेको अन्तरिम वितरण अनुमानका अनुसार नेपालले उक्त परिमाणमा कोभिशिल्प खोप पाउन लागेको हो। खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुन सक्ने अनुमान गरिएको छ।

सन् २०२० को एप्रिलमा मा विश्व स्वास्थ्य सङ्गठन, युरोपियन कमिशन र फ्रान्सले स्थापना गरेको एक्सेस टु कोभिड-१९ टूल्सको एउटा अङ्ग कोभ्याक्स हो।

ग्याभी, भ्याक्सीन अलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेटर्सले संयोजन गर्ने कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्छ। यसले सबै देशलाई समान खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य लिएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप किन्नेछन् भने ग्याभी(कोभ्याक्स(एएमसीअन्तर्गत ९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप पाउने छन्।

नेपालले एएमसीअन्तर्गत सुविधा पाउन लागेको हो।

नेपालसँगै दक्षिण एशियाका अन्य देशहरूले पनि यो खोप पाउनेछन्। जसअनुसार बाङ्ग्लादेशले १ करोड २७ लाख ९२ हजार डोज, भुटानले १ लाख ८ हजार डोज र भारतले ९ करोड ७१ लाख ६४ हजार डोज पाउनेछन्। 

यसैगरी मालदिभ्सले १ लाख ८ हजार डोज, पाकिस्तानले १ करोड ७१ लाख ६० हजार डोज र श्रीलंकाले १६ लाख ९२ हजार डोज पाउने विवरणमा उल्लेख छ। 

कोभ्याक्सका अनुसार अन्तरिम वितरण अनुमान तयारी सुरु गर्नका लागिमात्रै हो र यो परिवर्तन हुन सक्छ। - बीबीसीबाट