काठमाण्डौ। मस्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। 

नर्भिक अस्पतालमा भर्ना गरिएका जोशीको स्वास्थ्य अवस्थामा सुरुआतका केही दिनमा राम्रो सुधार भए पनि गत शनिबार बिहानदेखि एक्कासि समस्या आएको हो। शनिवार बिहानदेखि उनको श्वासप्रश्वास र मुटुको चालमा एक्कासि गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ। 

भेन्टिलेटरको सपोर्टमा भए पनि अहिले जोशीको रक्तचाप सामान्य छ भने प्रतिमिनेट उनी आफैँले ८–१० पटक सास फेरिरहेका छन्। ‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ तर जोशी अझै कोमामै छन्’, उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले भने। 

मस्तिष्कघात हुँदा रक्तस्राव भई जोशीको टाउकोमा रगत जमेको थियो। यस्ता बिरामीहरुमा उपचारका क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको डा. झाको भनाइ छ। 

आज मंगलबार दिउँसो ३ बजेसम्मको जोशीको स्वास्थ्य अवस्था स्थिर तर जोखिमपूर्ण नै देखिएको छ। 

यसअघि गत सोमबार बिहानबाट उनी आफैँले सास फेर्न थालेपछि भेन्टिलेटरको फुल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको थियो। बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर केही दिनअघि नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) समेत गरिएको थियो। ‘जोशीको स्वास्थ्य अवस्थामा तीव्र सुधार आउने हामीले अपेक्षा गरेका छौँ’, डा. झाले भने।