काठमाण्डौ। सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले बुधबार आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने कार्यक्रमको आयोजना गरी नेपाल धितोपत्र बोर्डले हालै ल्याएको नयाँ बुक बिल्डिङ प्रक्रिया मूल्य निर्धारण गरी आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी गराएको हो। कम्पनीले कुल ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको १५ प्रतिशतले हुन आउनेछ।

कुल निष्कासन हुने साधारण सेयरमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताअन्तर्गत, स्थानीय जिल्लावासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी र अन्य सर्वसाधारणलाई २८ लाख कित्ता छुट्याइएको छ। 

कम्पनी आन्तरिक मूल्यांकन तथा केही आधारहरु अध्ययन गर्दा प्रतिकित्ता सेयरको मूल्य ७५० रुपैयाँभन्दा बढी हुनेमा विश्वस्त रहेको छ। यद्यपि अन्तिम मूल्य भने संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट निर्धारण हुने कम्पनीले जनाएको छ।

कम्पनीे आईपीओको मूल्य सम्बन्धमा केही आधारहरु तयार गरेको छ। जसअनुसार कम्पनीको दैनिक क्लिंकर उत्पादन मक्ष्ता ३ हजार मेट्रिकटन तथा वार्षिक २ करोड बोरा समेन्ट उत्पादन क्षमता र कम चुक्तापुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने भनिएको छ।

यसैगरी कम्पनीको आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै आएको र वगत ३ वर्षदेखि औसत मुनाफा (करपछिको) वार्षिक १०४ करोडभन्दा बढी हुने कम्पनीले जनाएको छ। विगत ३ वर्षको औसत ईपीएस रु. ५२ रहेको र आगामी ३ वर्षको औसत ईपीएस रु. ४५ भन्दा बढी प्रक्षेपित गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीको रिभर्ज २०७७ माघ मसान्तसम्मको अन्यमा रु. २३१ करोडभन्दा बढी रहेको र आगामी ३ वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउने भएकोले बढी प्रतिफल दिनसक्ने कम्पनीको दाबी छ। 

आईपीओबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी सतप्रतिशत ऋणमुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने रहेको र यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुन जाने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ। आईपीओ जारीपश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश दिने निश्चित भएकोले सोबापत झन्डै रु. १०० प्रतिसेयरको आम्दानी तत्कालै हुने कम्पनीको दाबी छ। 

कम्पनीका अनुसार सेयरधनीले तिरेको रु. ६५० प्रिमियमको १५ प्रतिशतले हुन आउने प्रतिसेयर रु.९७\५० कम्पनीको रिजर्भमा रहने भएकोले सोबापत थप बोनस सेयर जारी हुने सम्भावना रहेको छ।

हाल कम्पनीको सम्पत्ति रु. २००० करोड हेको छ। 

आईपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक तथा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ। 

इक्राबाट कम्पनीले आईपीओ रेटिङ बीबीबी प्लस पाएकोले कम्पनी लगानीकर्ताका लागि औसतभन्दा बढी राम्रो रहेको देखिन्छ। साथै, इक्रा रेटिङअनुसार कम्पनीको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्योगभन्दा कम रहेकोले कम्पनीले बढी प्रतिफल दिन सक्ने दाबी गरिएको छ। 

यो कम्पनी २०६७ सालमा ई. विष्णुप्रसाद न्यौपानेको अगुवाइमा ७ जना स्वदेशी तथा विदेशी लगानीकर्ता मिलेर स्थापित भएको थियो। कम्पनीले २०७१ सालमा क्लिंकर उत्पादन तथा बिक्री गर्दै २०७३ सालमा सिमेन्ट उत्पादन गर्न थालेको हो। २०७६ साउनमा प्रालिबाट लिमिटेड कम्पनीमा परिणत भएको थियो।