– अर्जुन तिमिल्सिना

काठमान्डौ। देशभित्रै केही उद्यम गर्न चाहनेहरुका लागि अब थप सहज हुने भएको छ। 

नयाँ तथा स्टार्टअप कम्पनीलाई फन्ड तथा व्यापार सल्लाह दिनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना हुने प्राइभेट इक्विटी भेन्चर क्यापिटल (पीईभीसी) लाई फन्ड व्यवस्थापनको लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुगेको हो। पीईभीसी सञ्चालनका लागि ९ वटा स्वदेशी फन्ड व्यवस्थापक कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। धितोपत्र नियामली २०७५ अनुसार योग्य ठहरिएका तीमध्ये ५ वटा कम्पनी छनौट गरिएको धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केशीले जानकारी दिए।

पीईभीसी स्थापनाका लागि न्यूनतम ५० लाख रुपैयाँ फन्ड चाहिन्छ। पीईभीसी भनेको नेपालमा वित्त व्यवस्थापनको नयाँ मोडेल हो। यसको प्रत्यक्ष निगरानी धितोपत्र बोर्डले गर्नेछ। 

पीईभीसी स्थापना तथा विकासले नेपालको आर्थिक विकासमा कोशेढुंगा साबित हुने तथा सकारात्मक प्रभाव पर्ने धितोपत्र बोर्डले बताउँदै आएको छ। 

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार पीईभीसी मोडेलबाटै जापानको होन्डा कम्पनी तथा अमेरिका तथा युरोपमा चलेको उबरको विकास भएको हो। हाल पीईभीसी सञ्चालनका लागि ४ वटा मर्चेन्ट बैंक र एउटा निजी कम्पनीलाई अनुमति दिने तयारी भइरहेको पनि उनले जानकारी दिए।