काठमान्डौ । विश्वभर कोभिड–१९ का बिरामी बढेको बेलामा चीन र रसियाबीच केभिड–१९ भ्याक्सिनको उत्पादन तथा वितरण चुस्तदुरुस्त पार्ने सहमति भएको छ। 

अन्य व्यापारमा जस्तै पश्चिमा राष्ट्र र चीन–रसियाबीच कोभिडको भ्याक्सिन उत्पादन तथा वितरणमा प्रतिस्पर्धा हुने देखिएको छ। सीएनएनका अनुसार चीन र रसियाले संयुक्त रुपमा भ्याक्सिन उत्पादनका लागि चीनमा ३ वटा ठूला उद्योग स्थापना गरेका छन् । 

हालसम्म विश्वबाट ३ अर्बभन्दा बढी डोजको माग आएको छ । त्यसमा सबैभन्दा बढी इन्डोेनेसियाले १२५ मिलियन डोज तथा टर्कीले १०० मिलियन डोज भ्याक्सिनको माग गरेका छन्। त्यसैगरी ल्याटिन अमेरिकी राष्ट्र चिली र अर्जेन्टिनाले पनि रसिया तथा चीनसँग भ्याक्सिन माग गरेका छन्। 

रसियाले उत्पादन गरेको स्पुतानिक ५ र चीनले उत्पादन गरेको सिनोभ्याक्स ९१.६ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। संयुक्त रुपमा उत्पादित भ्याक्सिन अब ‘मेड इन चाइना’ लेखेर पठाइने बताइएको छ। 

यसैबीच संसारमा कोभिडका कारण व्यापारव्यवसाय ठप्प भएर अर्थतन्त्र नकारात्मक भएको बेला चीनको अर्थतन्त्र झन मजबुत हुँदै गएको समाचार आउन थालेका छन्। – एजेन्सी