– अर्जुन तिमिल्सिना
काठामाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज एक विज्ञप्ति जारी गर्दै ‘जोखिमयुक्त’ भनेर ५१ वटा सूचीकृत कम्पनीको नामावली सार्वजनिक गर्यो। सेबोनले लगानीकर्तालाई सचेत गराउँदै ती जोखिमयुक्त कम्पनीहरुका विषयमा थप अध्ययन प्रक्रिया अगाडि बढाइएको दाबीसमेत गरेको छ।
धितोपत्र बोर्डले एकाएक खुलमखुला रुपमा सूचीकृत कम्पनीहरुमध्ये ५१ वटा कमपनीको नामावली सार्वजनिक गरेपछि सेयर बजार तरंगित बनेको छ। धितोपत्र बोर्डको यो कदमलाई कतिपयले उचित मानेका छन् भने कतिपयले अनुचित मानेका छन्।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार धितोपत्र बोर्डको यो कदम समयसापेक्ष रहेको बताउँछन्। ‘यद्यपि यसरी नामावली नै भने सार्वजनिक गर्न हुँदैन थियो’, उनले भने, ‘शंकास्पद कम्पनीहरुलाई कारबाही हुनैपर्छ तर यसरी नामै किटान गरेर सार्वजनिक गर्दा बजारमा कस्तो प्रभाव पर्छ भन्ने कुरा धितोपत्र बोर्डका अधिकारीहरुले हेक्का राख्नुपथ्र्यो।’
यसरी जोखिमयुक्त भन्दै एकैपटक कम्पनीहरुका नामावली सार्वजनिक गर्दा स्वतन्त्र बजारमा एक किसिमको हस्तक्षेप पनि भएको भनेर बुझ्न सकिने रौनियारको भनाइ छ। ‘धितोपत्र बोर्डसँग आईटी विशेषज्ञ पनि छन्, त्यस्ता शंकास्पद कारोबारलाई आईटी विशेषज्ञ राखेर लाइभ मार्केटमै धितोपत्र बोर्डले सचेत गर्न तथा कारबाही गर्न सक्नुपथ्र्यो’, उनले भने।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बुलिस बजारमा यसरी नियामक निकायबाटै खुलमखुला जोखिमयुक्त कम्पनीहरु भनेर नामावली नै सार्वजनिक गर्नु उपयुक्त नभएको बताइन्। उनले भने, ‘वित्तीय अवस्था कमजोर भएका कम्पनीहरुको सेयर चलखेल भइरहेको छ भने सोहीअनुसार गोप्य रुपमा अनुसन्धान गरी कारबाही गरिनुपथ्र्यो। तर धितोपत्र बोर्डको आजको वक्तव्य उचित मान्न सकिन्न।’
नियामकले सोचविचार नै नगरी उठाएको कदमले आमलगानीकर्ताको सम्पत्ति बन्धक हुने अवस्था भने आउन नहुने पोखरेलको भनाइ छ। ‘बेलाबेला धितोपत्र बोर्डले लगानीकर्ताहरु सचेत गराउँदै आएकै थियो नि’, उनले भनिन्, ‘तर आजको शैली ठिक भएन।’
सेयर बजारका जानकार मेघनाथ निरौलाले धितोपत्र बोर्डको कदमलाई अनुचित भन्दै विज्ञप्तिले बजारमा कुनै प्रभाव नपर्ने ठोकुवा गरे । लगानीकर्तालाई सचेत गराउनेसम्मको कार्य सही भए पनि नियत खराब भए त्यो गलत हुने उनको तर्क छ । 'पहिला पनि बोर्डले भद्रकालीमा लगानीकर्तालाई सचेत गराउन भन्दै मादल बजाएकै हो ।' उनले थपे-'अहिले ढोलक बजाउँदैमा केही फरक पर्दैन ।'
धितोपत्र बोर्डको आजको कदमले सेयर बजारमा कुनै असर नगर्ने दाबी पनि निरौलाले गरे। ‘बरु साना तथा सोझा लगानीकर्तालाई थप सचेत हुने मौका मिलेको छ’, उनले भने, ‘उनीहरु अब राम्रा कम्पनीहरुमा लगानी गर्न सुरु गर्ने छन्।’
उता सक्रिय लगानीकर्ता केशव कोइराला भने धितोपत्र बोर्डको विज्ञप्तिप्रति आशंका व्यक्त गर्छनु । ‘बजारमा पहिलेदेखि नै चलखेल भइरहेको भन्ने कुरा सबैलाई थाहा छ तर बजार एउटा उचाइमा पुगेको बेला धितोपत्र बोर्डले एकाएक ‘जोखिमयुक्त’ कम्पनीहरु भन्दै नामावली नै सार्वजनिक गर्नुले शंका अवश्य पनि उब्जिन्छ’, उनले भने, ‘नामावली नै सार्वजनिक गर्नुभन्दा त्यस्ता कम्पनीको कारोबार नै रोक्का गरेर देखाउने आँट धितोपत्र बोर्ड देखाउनुपथ्र्यो।’
धितोपत्र बोर्डले आज जोखिमयुक्त भन्दै जलविद्युत समूहका २२ वटा, जीवन, निर्जीवन र अन्य समूहका ५/५ वटा, वित्त समूहमा ४ वटा, होटेल तथा पर्यटन, विकास बैंक, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहका २/२ वटा गरी ५१ वटा कम्पनीका नाम सार्वजनिक गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago