– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा बिक्रीतर्फको अल अर नन (एओएन) पनि सुविधा हटाउने विषयमा पनि अध्ययन सुरु गरेको छ। 

लगानीकर्ताले खरिदतर्फ मात्रै एओएन हटाउँदा सेयर बजार घट्न पुगेको गुनासो गरिरहेकै बेलामा धितोपत्र बोर्डले बिक्रीतर्फको एओएन पनि हटाउने विषयमा पनि अध्ययन अगाडि बढाएको हो। धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिक्रीतर्फको एओएन हटाउने विषयमा धितोपत्र बोर्डले गम्भीर अध्ययन गरिरहेको जानकारी दिए। ‘अहिले हामी खरिदतर्फबाट एओएन हटाउँदा बजारमा के–कस्तो असर परिरहेको छ भने अध्ययन गरिरहेका छौँ’, बिजशालासँग उनले भने, ‘यदि बिक्रीतर्फ पनि एओएनकै कारण अवाञ्छित गतिविधि भइरहेको पाएमा त्यो पनि हटाउन सक्छौँ।’

बिक्रीमा सिस्टमले चेक गर्ने भएकोले बिक्रीतर्फकाट एओएन नहटाइएको ढुंगानाले बताए। ‘तर खरिदतर्फ कुनै सिस्टम नभएको तथा खरिदकर्ताको ब्यालेन्स चेक पनि नहुनाले खरिदतर्फको एओएन हटाइएको हो’, उनले भने। 

केही समय अघिमात्रै धितोपत्र बोर्डले सेयर बजारमा नक्कली खरिदकर्ता बनेर आमसर्वसाधारणलाई भ्रममा पारिएको भन्दै  खरिदतर्फको एओएन सुविधा हटाएको थियो। यो सुविधा हटेपछि केही लगानीकर्ताले नेप्सेको टीएमएसमा दुवैतर्फ हट्नुपर्ने तथा अहिले नक्कली बिक्रीकर्ता हावी भएर सेयर बजारमा गिरावट आएको पनि आरोप लगाउँदै आएका छन्। 

बजार जानकार गोविन्दप्रसाद घिमिरेले एओन दुवैतर्फ हटाउनुभन्दा पनि ब्यबस्थित गर्नुपर्ने तर्क गर्छन्। ‘किन्दा–बेच्दा टुक्राटुक्रा भयो। यसका लागि निश्चित सेयर संख्यासम्मलाई एओनमा राख्ने व्यवस्था भयो भने राम्रो हुने थियो’, उनले भने, ‘अथवा ब्रोकर कमिसन ०.२७ प्रतिशत वा दिनभरको कारोबारमा एउटै कमिसन भए पनि उपयुक्त हुने थियो।’ 

अहिलेको यो नियम हचुवाको भरमा आएको पनि घिमिरेलले आरोप लगाए।