काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको औँल्याएका छन्। 

नेपाल आर्थिक संघले सोमबार अर्थमन्त्री शर्मालाई एक कार्यक्रमबीच संघको मानार्थ सदस्यता प्रदान गरेको छ। सोही कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। 

मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकारमात्र पर्याप्न नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताए। आफूले यस विषयमा योजना बनाइरहेको उनले जानकारी दिए। 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले ‘हामी नै जान्ने हौँ’ भन्ने घमण्ड कर्मचारीहरुमा पलाउनसक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए। 

नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थ मन्त्रालयलाई सघाउँदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने वचन दिए। 

यस्तै अर्थविद डा भवानी ढुंगाना, डा शिवराज अधिकारी, गोपाल तिवारीलयतले नयाँ सरकारसँग काम गर्नका लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाईदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए। उनीहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भए पनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्काउने गरिएको गुनासोसमेत गरे।