काठमाण्डौ । विद्युत नियमन आयोगले त्रुटिपूर्ण सूचना प्रवाह गर्ने विद्युत कम्पनीका प्रवर्द्धक एवं विद्युत उत्पादक कम्पनीविरुद्ध आवश्यक कारबाही चाल्ने चेतावनी दिएको छ।

केही विद्युत कम्पनीका प्रवर्द्धकले सेयरमूल्यमा अस्वाभाविक वृद्धि गराउने क्रियाकलापमा संलग्न भएका समाचारहरु सम्प्रेषण भएपछि आयोगले यस्तो चेतावनी दिएको हो। आयोगले नेप्सेमा सूचीकृत विद्युतसम्बन्धी कम्पनीको सेयरमूल्यमा अस्वाभाविक वृद्धि भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

जानाजान रुपमा लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटिपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवं उत्पादक कम्पनीविरुद्ध आयोगले आवश्यक कारबाही चाल्ने आयोगले चेतावनी दिएको छ। ‘सूचीकृत कम्पनीले जानकारी तथा विवरण सार्वजनिक गर्दा सत्य तथा निष्पक्ष रुपमा प्रेषित गर्नुपर्ने सम्बन्धित कम्पनीको जिम्मेवारी हो’, आयोगद्वारा जारी सूचनामा भनिएको छ।

यसैगरी आयोगले कुनै पनि विद्युतसम्बन्धी कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लगानीकर्ता स्वयंले नै सम्बन्धित प्रवर्द्धक कम्पनी तथा आयोजनाको आधारभूत अवस्थाको अध्ययन गरी निक्र्यौल गर्नुपर्ने स्पष्ट पारेको छ। ‘यो धितोपत्र बजारको सामान्य सिद्धान्त हो’, सूचनामा उल्लेख छ।

आयोगले विद्युतसम्बन्धी आयोजना एवं कम्पनीहरुको प्राविधिक तथा वित्तीय अवस्थालाई मध्यनजर गरी तथ्यपरक सूचनामा आधारित भएर उक्त सेयरले दिने÷दिन सक्ने प्रतिफलका बारेमा राम्रोसँग लेखाजोखा गरी लगानी गर्न वा सेयर खरिद गर्न आयोगले आग्रह गरेको छ। ‘लगानी गर्दा हुने सम्भावित मुनाफाको मूल्यांकन गर्दा त्यससँगै आउने जोखिमको पनि ध्यानपूर्वक आँकलन गर्नुपर्ने लगानीकर्ता स्वयंको जिम्मेवारी हो’, सूचनामा भनिएको छ।

आयोगले लगानी गर्नुअघि कम्पनीको नेटवर्थ चुक्तापुँजीभन्दा कम भए/नभएको, सेयरको बजारमूल्य र प्रतिसेयर आम्दानीको अनुपात कम भएको/नभएको, चालु सम्पत्ति र चालु दायित्वको अनुपात धेरै भए/नभएको, तरलता अनुपात धेरै भए/नभएको, निर्माणाधीन आयोजनाको हकमा कार्य प्रगति धेरै भएको/नभएको, निर्माणाधीन आयोजनाको विद्युत प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनको कार्य प्रगति हेर्दा सो प्रसारण लाइन आयोजनाभन्दा ढिला सम्पन्न नहुने देखिएको/नदेखिएकोजस्ता विषयमा ध्ययन गर्न पनि सुझाव दिएको छ।