–राजकुमार पराजुली
काभ्रे । सुनकोशी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ। यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी अन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको भ्रमण गर्ने सहमति जनाएको बताइएको छ।
गत मङ्गलबार नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले उक्त आयोजना निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। बैठकमा ६०० मेगावाटको खिम्ती शिवालय जलविद्युत् आयोजना निर्माणका लागि पनि बङ्गलादेशलाई नै प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवालले बताए। उनका अनुसार सुनकोशी तेस्रोका लागि नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बङ्गलादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकास तर्फका सचिव मोहमद हबिबुर रहमानले नेतृत्व गरेका थिए।
नेपालबाट बङ्गलादेशमा विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ। दुई देशबीच सन् २०१८ मा उर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएकामा बङ्गलादेशले नेपालको एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको थियो। हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको यस आयोजनालाई बङ्गलादेशले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो।
आयोजनाका लागि सर्वेक्षण, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत इञ्जिनियरिङ डिजाइनको काम पनि सकिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी रहेको विभागका इञ्जिनीयर सुवास थपलियाले जानकारी दिए। उनका अनुसार गत सालदेखि नै कोभिड–१९का कारण इआइए र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम हुन सकेको छैन। यी दुवै काम कोरोनाको जोखिम हटेपछि थालिने भएको छ। इआइएका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबाट कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृति भइसकेको छ।
इञ्जिनीयर थपलियाले भने, “कोभिडका कारण परामर्शदाता कम्पनीले फिल्डमा गएर काम गर्ने वातावरण नभएकाले इआइएको काम यो वर्ष पनि सरेको छ।” परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) को प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिमका कारण यसको बाँकी काम रोकिएको थियो।
एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए। टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेक्षणसम्मको काम सकिएको जनाइएको छ। प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा असर पर्ने घरपरिवार तथा क्षेत्र र समुदायलाई उपलब्ध गराउने क्षतिपूर्तिलगायतका विषयसमेत उल्लेख गरिएको थियो। साथै आयोजनाबाट असर पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडाका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकार व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो।
विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि रु १९ करोड बजेट विनियोजन गरेको थियो। दुवै आयोजना अध्ययनको काम सक्न रु ३३ करोड लाग्ने इञ्जिनीयर थपलियाले बताए। उनले भने, “हालसम्मको विभिन्न अध्ययनबाट सुनकोशी राम्रोभन्दा पनि तेस्रोको सम्भावना देखिँदै आएको थियो।” परियोजनाअन्तर्गत सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माणका लागि प्रस्ताव गरिएको छ।
प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुने र यसका लागि लुभूघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभूघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिने र विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ। आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब एक हजार ६०० परिवारलाई असर पुग्नसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ।
आयोजनाबाट सिन्धुपाल्चोकको तीन गाउँपालिका र दुई नापा, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका तथा सिन्धुलीको एक गाउँपालिकामा असर पर्ने देखिएको छ। वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१), अननुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा असर पर्ने क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्तरुपमा सार्वजनिक अपिल गरिसकेका छन्।
सांसद गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय गौरवको आयोजना सुनकोशी तेस्रोको प्रक्रिया अघि बढ्दा विकासे सपना साकार बन्दै गएको बताए। आयोजनाबाट असर पर्ने परिवारलाई स्थानान्तरण गर्न सरोकार निकायसँग छलफल गर्ने तयारी कोरोनाका कारण रोकिएको छ भन्दै उनले आयोजना बने माछापालन, बोटिङ, होटल तथा थप पर्यटकीय गन्तव्य स्थलको विकास हुने जानकारी दिए।
सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका) ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो। उक्त संस्थाका अनुसार १० उत्कृष्ट जलाशययुक्त विद्युतमध्ये सुनकोशी तेस्रो एक हो। विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलब चार मेगावाट क्षमता) निर्माणपश्चात् प्रस्तावित सुनकोशी–३ जिल्लाको दोस्रो आयोजना हुने भएको छ।
वि.सं २०७५ चैत महिनामा काठमाडौँमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि यस आयोजनालाई समावेश गरिएको थियो। आयोजनामा पहुँच मार्ग पुगिसकेको छ भने प्रसारण लाइनका लागि पनि समस्या छैन। यो आयोजना निर्माणस्थल काठमाडौँबाट ६० किलोमिटरको दूरीमा छ।
- RSS
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago