काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर कारोबार कहिलेदेखि होला भन्ने अहिले आमलगानीकर्ताको चासोको विषय बनेको छ। 

यो कम्पनीको आईपीओ बाँडफाँड भएको लगभग दुई साता हुन लागेको छ। कम्पनीले गत कात्तिक १२ गते आईपीओ बाँडफाँड गरेको थियो। 

हाल आरटीएस नियुक्तिको प्रक्रिया अगाडि बढाइएको कम्पनीका सीईओ रामगोपाल शिवाकोटीले बताए। ‘सम्भवतः कात्तिकको २४–२५ गतेसम्म आरटीएस नियुक्त गरिसक्छौँ होला’, उनले भने, ‘त्यसपछि हामी आईपीओ नेप्सेमा सूचीकरणका लागि प्रक्रिया अगाडि बढाउने छौँ।’

आरटीएस नियुक्त गरेको केही दिनमै कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत गरिने शिवाकोटी बताउँछन्। ‘त्यसैले सम्भव भएसम्म कात्तिकभित्रै सेयर कारोबारमा ल्याउने कोसिसमा छौँ’, उनले भने। 

मध्यभोटेकोशी कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो। सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका थिए।