– अर्जुन तिमिल्सिना

काठमाण्डौ ।  सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार प्रकरणमा मुछिएका भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेपछि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा दरखास्त पेस गर्ने भोलि (कात्तिक २५ गते) अन्तिम दिन रहेको छ। सरकारले अध्यक्ष पदका लागि गत कात्तिक ११ गते आवेदन खुलाएको थियो। 

अर्थ मन्त्रालयले नयाँ अध्यक्ष चयनका मधु मरासिनी, विश्व पौडेलका साथै प्राडा नारायणप्रसाद पौडेल सम्मिलित समिति बनाएको छ। सोही समितिले सेबोन भोलिसम्म अध्यक्षमा आवेदन परेकामध्ये ३ जनाको नाम छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ। सरकारले ती ३ जनामध्ये एकजनालाई सेबोनको अध्यक्षमा नियुक्ति गर्नेछ। 

अर्थ मन्त्रालय स्रोतअनुसार आजसम्म अध्यक्ष पदका लागि ३ जनाको आवेदन परेको छ। तीमध्ये २ जना सेबोनभित्रकै छन्। अध्यक्ष पदका लागि सेबोनभित्रबाट कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देश डा. नवराज अधिकारीले आवेदन दिएका छन्। डा. अधिकारीले यसअघि पनि सेबोन अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका थिए। त्यतिबेला ढुंगानालाई सरकारले सेबोनको अध्यक्ष नियुक्त गरेको थियो। 

अर्थमन्त्रीका प्रेस सल्लाहाकार सचिन रोक्काका अनुसार गिरी र अधिकारीसँगै अनिलराज पौडेलको आवेदन परेको छ। ‘आवेदन दिने म्याद अझै एक दिन बाँकी नै छ, त्यसैले आकांक्षीहरु थपिन सक्छन्’, उनले भने। 

पुँजीबजारलाई लामो समयदेखि बुझेका गिरी र अधिकारी दुवै सेबोन हाँक्न सक्ने सक्षम व्यक्ति रहेका बजार जानकारहरु बताउँछ। सेबोन अध्यक्ष पदमा सक्षम व्यक्तिमात्रै नभएर राजनीतिक पहुँच भएको र शीतल  कूटनीतिक  व्यक्ति पनि आवश्यक हुने हुँदा अहिले नै यिनैले बाजी मार्न सक्छन् भनेर भन्न हतार हुने उनीहरुको बुझाइ छ। 

ब्रोकर हाउसदेखि साना तथा ठूला लगानीकर्र्ता, पत्रकार अनि राजनीतिक दलका कार्यकर्ताको पनि आ–आफ्नै स्वार्थ र विचारले पुँजीबजारको नेतृत्वमा आउनका लागि केही न केही भूमिका अवश्य खेलेको हुन्छ। 

सेबोनमा आउने नयाँ अध्यक्षसमक्ष पुँजीबजारसँग सम्बन्धित समस्या निराकरणको चुनौती थपिनेछ। हाल पुँजीबजारमा ब्रोकर संख्या थप्नुपर्ने तथा बजार विस्तार गर्नैपर्ने बाध्यता छ। अर्कोतर्फ कमोडिटिज मार्केटको स्थापना, साना तथा मझौला कम्पनीको नेप्से परिसूचकमा वर्गीकरण, ब्रोकरहरुलाई एपीआई पोलिसी दिने काम र सेयर ब्रोकरकै नयाँ लाइसेन्सको वितरण गर्नुपर्ने काम थाँती नै छन्। 

पुँजीबजारको विकास र विस्तारसँगै आमूल परिवर्तन गर्नुपर्ने जिम्मेवारीका साथ सेबोनमा अध्यक्ष भएर आउनेका लागि आन्तरिक तथा बाह्य परिस्थिति मिलाउनु र सरकारसँग पनि समन्वय गरेर काम गर्नु ‘फलामको चिउरा’ चपाउनु जत्तिकै हुने जानकारहरु बताउँछन्। ‘पुँजीबजारमा समस्या नै  समस्याको पहाड रहेको अवस्थामा आउन लागेका नयाँ अध्यक्षका लागि खुमलटारको ढोका खोल्नुभन्दा पहिले त सिंहदरबारकै गेट खोल्नुपर्ने बाध्यता देखिन्छ’, बजार जानकार रवीन्द्र क्षेत्री बताउँछन्। 

पुँजीबजारमा ४६ लाखभन्दा बढी डिम्याट खाता खुलेको अवस्थामा आउँदै गरेको चुनाव र त्यसलाई प्रभाव पार्ने जनमतको पनि अहिलेको राजनीतिक शक्तिहरुले पक्कै पनि नजरअन्दाज गरेका छैनन्।  

त्यसो त बर्खास्तीमा परेका ढुंगानाले पनि आफू सर्वोच्च अदालत जाने बताइरहेको अवस्थामै नयाँ नियुक्त भएर जानेलाई ढुक्कसँग काम गर्ने वातावरण के–कति सहज हुन्छ, त्यो पनि सोचनीय नै छ।