काठमाण्डौ । विवेकशील साझा पार्टीले अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजीबजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै ‘धितोपत्र बोर्ड ः साम्राज्यवादको विकसित रुप’ भनी दिएका अभिव्यक्ति पूर्णतः गैरजिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टीले त्यसप्रति खेद व्यक्त गरेको छ।
विवेकशील साझाप पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा विज्ञप्तिमा भनिएको छ, ‘पुँजी बजारका विषयमा वामपन्थी अझ खासगरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक–पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ। आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी सेयर बजारलाई जुवाघर करार गर्नेदेखि साम्राज्यवादको विकसित रुपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र संकुचित सोचाइको उपज हो।’
पुँजीबजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ। ‘बजार दुर्घटनामा पर्यो भने अरु धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस तथ्यलाई मनन गर्दै आफ्नो भनाइ तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रुपमा प्रस्तुत हुन हामी नेता प्रचण्डलाई सुझाव दिन्छौँ।’
त्यसैगरी पुँजी बजारलाई नियमन गर्ने निकायहरु लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको र बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन नसकेको विज्ञप्तिमा उल्लेख छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19