– अर्जुन तिमिल्सिना

काठमाण्डौ । ब्रोकर हाउसमा जाँदा दैनिकजसो क्लोजआउटको समस्या सुनिन्छ। केही समयपहिले एउटा ब्रोकर हाउसमा एक लगानीकर्ताले ४ लाख रुपैयाँको सेयर बेच्दा ८० हजार रुपैयाँ क्लोजआउटबापतको जरिवाना तिर्नुपरेको गुनासो पोखेका थिए। त्यही ब्रोकर हाउस सञ्चालकले गएको सातामात्रै लगातार ४ जना लगानीकर्ता क्लोजआउटमा परेको जानकारी दिए। 

सेयर बजारमा कारोबार गर्दा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ। हामीले स–साना कुरामा विचार पुर्याएनौँ भने एक वर्ष लगाएर कमाएको पैसा अनावश्यक जरिवाना तथा खर्चले एक महिनामै गुम्न पनि सक्छ। 

खासगरी क्लोजआउट हामीले सेयर बेचेपछि समयमै ईडीआईएस (सेयर हस्तान्तरण) नगर्दा तिर्नुपर्ने जरिवाना हो। अहिले सीडीएससीले टी प्लस वानको सेटलमेन्ट व्यवस्था गरेको छ। यो नियमअनुसार हामीले आज सेयर बेचेको भोलिपल्ट दिउँसो ३ बजेसम्म मेरो सेयरमा गएर सेयर हस्तान्तरण गर्नुपर्छ। अन्यथा, हामीले बेचेको सेयरको कुल मूल्यमा २० प्रतिशतले जरिवना तिर्नुपर्ने हुन्छ। तर, हामी तोकिएको समयमै बेचेको सेयर हस्तान्तरण गर्यौँ भने क्लोजआउटबाट बच्न सक्छौँ। 

सबैभन्दा पहिले हामीले मेरो सेयरमा भएको ब्यालेन्सअनुसार नै सेयर बेच्ने गर्नुपर्छ। टीएमएसमा भएको डीपी होल्डिङमा यथार्थ रेकर्ड नहुन सक्छ। अहिले क्लोजआउटमा पर्नुको मुख्य कारण टीएमएको डीपी होल्डिङको त्रुटि नै हो। यसै त्रुटिलाई लगानीकर्ताले ख्याल नगर्दा धेरै लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको देखिन्छ। 

दोस्रो भनेको यदि हामीले ठूलो कारोबार गर्छौं भने दैनिक एउटा नोट बनाउने गरौँ। हरेका दिन दिउँसो ३ बजेपछि आफ्नो नोटमा बेचेको सेयरको हिसाब राखौँ र सोही दिन साँझ ६ बजेपछि तुरुन्त ईडीआईएस गर्न नभुलौँ। जसरी सेयर किनबेच गर्ने हाम्रो काम हो, त्यसरी नै ईडीआईएस गर्ने काम पनि याद गरौँ। 

तेस्रो भनेको आफ्नो ब्रोकरलाई चुस्तदुरुस्त राखौँ। आफ्नो हरेका कारोबारको मोबाइलमा अनिवार्य म्यासेज पठाउन ब्रोकरलाई आग्रह गरौँ। यदि हामी विदेशमा छौँ भने अनिवार्य आफ्नो कारोबारलाई ई–मेल गर्न लगाऔँ। 

बेला–बेलामा ब्रोकरसँग आफ्नो कारोबारको हिसाब–किताब (लेजर) मागौँ र आफ्नो हिसाब–किताब चेक गरौँ। किनकि कहिलेकाहीँ हामीले कनेक्ट आईपीएसबाट तिरेको पैसा ब्रोकरको लेजरमा इन्ट्री नहुन पनि सक्छ। 

यी ३ काम गर्यौँ भने हामी क्लोजआउटमा पर्नबाट जोगिन सक्छौँ।