काठमाण्डौ । पुँजीबजार सुधार तथा विकासका लागि लगानीकर्ताका विभिन्न संघसंगठनका प्रतिनिधिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई भेटेर सुझाव दिइरहेका छन्। यही सिलसिलामा आज नवनियुक्त सीईओ कार्कीलाई भेटेर सेयर लगानीकर्ता संघ नेपालका प्रतिनिधिले आफ्ना सुझाव पेस गरेका छन्। 

संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलको नेतृत्वमा गएको टोलीले सीईओ कार्कीलाई शुभकामना दिँदै बजार सुधार र विकासका लागि विभिन्न सुझाब दिएका हुन्। अहिलेको टीएमएसको क्षमतालाई वृद्धि गरेर ६० अर्ब रुपैयाँसम्मको कारोबार धान्न सक्ने बनाउन, हरेक स्थानीय तहसम्म पुँजीबजारको विकास तथा विस्तार गर्न संस्थागत र विश्वासनीय ब्रोकर थप्न, विगतमा लगानीकर्ता तथा विभिन्न संघसंगठनहरुबीच भएका ५८ बुँदे मागमध्ये नेप्सेसँग सम्बन्धित माग यथाशीघ्र सम्बोधन गर्नका लागि पहल गरिदिन सुझाव दिइएको उपाध्यक्ष फुल्लेलले बताए। 

यसका अलवा अहिलेको टीएमएससहित हरेक जानकारीमूलक नेप्से एप बनाई कार्यान्वयनमा ल्याउन पनि सुझाव दिइएको फुल्लेलले बताए। ‘सीईओ कार्कीलाई बजारमा हुने अनियमितालगायत भित्री कारोबार र सेयर कर्नरिङ रोक्नका लागि उचित कदम चाल्न पनि सुझाव दिएका छौँ’, उनले भने, ‘सीईओ कार्कीले पनि लगानीकर्ताका जायज माग यथाशीघ्र सम्बोधन गर्ने वाचा गर्नुभएको छ।’