काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा आज बिहीबारदेखि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि छलफल सुरु हुने भएको छ। 

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ प्रस्ताव प्रस्तुत हुनेछ। सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रुप दिनेछ। 

गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए। एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ।

प्रतिनिधिसभामा सबैभन्दा पहिले एमसीसीको सैद्धान्तिक विषयमाथि बहस हुनेछ । सैद्धान्तिक बहसमा सांसदहरुबाट उठेका प्रश्नको जबाफ विभागीय मन्त्रीले दिनुपर्छ। 

विभागी मन्त्रीको जबाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ। सैद्धान्तिक छलफलपछि दफाबार छलफल हुनेछ । दफाबार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ। 

एमसीसी पारित गर्नका लागि प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत आवश्यक पर्नेछ।