काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारसम्बन्धी सचेतना बढाउन तालिम केन्द्रहरु स्थापना गर्नुपर्ने आवश्यक औँल्याएका छन्। 

अर्थ मन्त्रालयका आज पुँजीबजारको वर्तमान अवस्थासम्बन्धी छलफलमा अर्थमन्त्री शर्माले पुँजीबजारसम्बन्धी आमलगानीमा सचेतना कम देखिएकोले तालिम केन्द्रहरु स्थापना गर्नुपर्ने बताएका हुन्। ‘कारोबार खुरुखुरु भइरहेको छ तर आमलगानीकर्तामा पुँजीबजारसम्बन्धी सचेतना कम देखिएको छ’, उनले भने, ‘त्यसैले लगानीकर्तालाई सचेतना दिन तालिम केन्द्र आवश्यक देखिएको छ। 

छलफलमा उपस्थित नवनियुक्त नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षलाई निर्देशन दिँदै अर्थमन्त्री शर्माले बजारको विकास र विस्तारमा नेप्से र सेबोनबीच तालमेल आवश्यक देखिएको बताए।

मन्त्री शर्माले हाल सञ्चालनमा रहेको टीएमएस पूर्ण नरहेको बताए। ‘टीएमएममा व्यापक सुधार गर्नुपर्ने देखिएको छ । यसमा सबै कुरा छैन’, उनले भने।

शर्माले स्टार्टअप कम्पनीहरुलाई पनि पुँजीबजारमा प्रवेश गराउने वातावरण आवश्यक नीतिनिर्माण गर्न निर्देशन दिए। ‘हाम्रो पुँजीबजार धेरै सुधार गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘त्यसैले आवश्यक नीतिनियम बनाएर पुँजीबजारलाई अझ विस्तार गर्नुपर्छ।’

अर्थमन्त्री शर्माले ब्रोकर कम्पनीहरु सेयर खरिदबिक्रीमा मात्रै सीमित रहेको दक्षता अभिवृद्धि गर्नुपर्ने बताए। ‘ब्रोकर कम्पनीहरुले आफ्नो सेवा विस्तार गरी लगानीकर्तालाई सेयर कारोबारमा उचित सरसल्लाह दिनुपर्छ’, उनले भने।