काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (एएचपीसी)लाई अरुण काबेली पावर (एकेपीएल) को संस्थापक सेयर बिक्रीमा रोक लगाएको छ।
सेबोनले दुवै कम्पनीका सञ्चालकहरु एकै व्यक्ति/समूह रहेको भन्दै अरुण भ्यालीलाई अरुण काबेलीको संस्थापक सेयर बिक्रीमा रोक लगाएको हो। त्यसो त अरुण काबेलीको लकिङ पिरियड पनि सकिसकेकोले अन्य जलविद्युत कम्पनीजस्तै यो कम्पनीको संस्थापक सेयर पनि नियमतः साधारण सेयरजस्तै किनबेच गर्न पाइन्छ। तर, दुवै कम्पनीमा सञ्चालकहरु एकै व्यक्ति/समूह रहेको भन्दै सेबोनले संस्थापक सेयर खरिदबिक्रीमा रोक लगाएको छ।
यसरी सेबोनले अरुण काबेलीको सेयर बिक्रीमा लगाएसँगै राम्रो कमाइ हुने भन्दै अरुण भ्यालीको लाखौँ सेयर उठाएका लगानीकर्ताहरुलाई धोका भएको छ। उनीहरुको अरुण भ्यालीबाट मनग्य आम्दानी गर्ने सपना चकनाचुर भएको छ।
बजारमा पहिलेदेखि अरुण भ्यालीले अरुण काबेलीको ठूलो परिमाणमा संस्थापक बेच्न लागेको सूचना लिक भएको थियो। अरुण काबेलीको संस्थापक सेयर बेच्दा करोडौँ रुपैयाँ अरुण भ्यालीले आम्दानी गर्ने र प्रतिफल उच्च दिने सम्भावना देखेर लगानीकर्ताहरुले अरुण भ्यालीको लाखौँ कित्ता सेयर उठाएका छन्।
सेबोनले अरुण काबेलीमा अरुण भ्यालीको नाममा रहेको २२ लाख ३२ हजार ५०० कित्ता संस्थापक सेयर किनबेचमा रोक लगाएपछि राम्रा रिटर्न अपेक्षामा अरुण भ्यालीको सेयर किन्नेहरु बिलखबन्दमा परेका छन्।
आज अरुण काबेलीको प्रतिकित्ता ५१८ रुपैयाँ कायम भएको छ। उदाहरणका लागि यदि अरुण भ्यालीले अरुण काबेलीको सेयर प्रतिकित्ता ५०० रुपैयाँमै बेच्न पाएको भए उसलाई प्रतिकित्ता ४०० रुपैयाँ नाफा हुन्थ्यो। यो हिसाबले अरुण भ्यालीले अरुण काबेलीको सबै कित्ता बेच्न पाएको भए ८९ करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो।
अरुण भ्यालीकी कम्पनी सचिव रन्जु अधिकारीले अरुण काबेलीको संस्थापक सेयर सेबोनले बिक्री गर्न रोक लगाएको स्वीकार गरिन्। ‘दुवै कम्पनीका सञ्चालकहरु एकै व्यक्ति/समूह रहेको भन्दै सेबोनले सेयर बेच्ने रोक लगाएको छ’, उनले भनिन्, ‘हामीले लकिङ पिरियड सकिएकोले बेच्न पाउनुपर्छ भनेका थियौँ तर सेबोनले मानेन।’
सेबोनले एक हप्ताअघि पत्र पठाउँदै अरुण काबेलीको संस्थापक सेयर बिक्रीमा रोक लगाएको अधिकारीले बताइन्। ‘यस विषयमा हामीले पटकपटक सेबोनसँग कुरा गर्यौँ तर टुंगो लाग्न सकेको छैन’, उनले भनिन्, ‘अब के गर्ने भन्ने विषयमा कम्पनी सञ्चालक समितिको बैठकले निर्णय गर्नेछ।’
सेबोनका कार्यवाहक कार्यकारी निर्देशक विनयदेव आचार्यले पनि दुवै कम्पनीका सञ्चालकहरु एकै व्यक्ति/समूह रहेका कारण अरुण भ्यालीलाई अरुण काबेलीको संस्थापक सेयर बेच्न रोक लगाइएको बताए। ‘धितोपत्र विनियमावलीअनुसार नै हामीले अरुण काबेलीको सेयर नबेच्न अरुण भ्यालीलाई भनेका छौँ’, उनले भने, ‘नियमअनुसार यो अवस्थामा कम्पनीको सञ्चालक पद छाडिसकेको हकमा पनि सेयर बेच्न एक वर्ष कुर्नुपर्ने हुन्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19