काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा धितोपत्र बजारको महत्वपूर्ण स्थान रहेको बताएका छन्।

ग्लोब मनी विक–२०२२ अन्तर्गत नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले  पछिल्लो समय धितोपत्र बजारको आकार र यसमा सर्वसाधारणको उल्लेख्य सहभागिता बढ्दै गएका कारण धितोपत्र बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको बताएका हुन्। ‘धितोपत्र बजारका बारेमा सर्वसाधारणलाई बुझाउन आवश्यक छ’, उनले भने, ‘त्यसैले वित्त परिचालन गर्ने संस्थाहरुले यस्ता कार्यक्रमहरु तल्लो जनसमुदायसमेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता छ।’

यस्ता कार्यक्रमहरुले लगानीको सुरक्षा तथा वित्तीय क्षेत्रको जानकारी हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने शर्माले बताए। ‘

धितोपत्र बजारमा विविध खालका समस्या छन्’, उनले भने, ‘ती समस्याहरु समाधान गर्दै बजारको गुणात्मक विकास तथा विस्तारका लागि नयाँ नेतृत्व पठाएको छु र उहाँहरुलाई निर्देशनसमेत दिएको छु।’

धितोपत्र बजारमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालयले पर्याप्त मात्रामा सहजीकरण गर्ने प्रतिबद्धतासमेत शर्माले व्यक्त गरे। हालको नयाँ नेतृत्वले नयाँ प्रतिबद्धतासहित नयाँ संरचना तथा योजनासहित बजारको विकास तथा विस्तारका लागि कार्य गर्नुपर्ने र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमैत्री एवं आधुनिक बनाउनुका साथै बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई उनले निर्देशनसमेत दिए। 

वित्तीय अज्ञानताका कारण विविध खालका समस्या उत्पन्न हुने र आरोप प्रत्यारोपहरु लाग्ने हुँदा सर्वसाधारणलाई बुद्धिमतापूर्वक निर्णय लिन सक्षम बनाउन साक्षरतासम्बन्धी कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन गर्नसमेत निर्देशन अर्थमन्त्री शर्माले दिए। 

कार्यक्रममा सेबोनका अध्यक्ष रमेशकुमार हमालले वित्तीय साक्षरता अभिवृद्धि गर्ने यस कार्यक्रममा उल्लेख्य सहभागिता देखाउने सबै पक्षलाई धन्यवाद दिए। ‘यसले बोर्डलाई लगानीकर्ताको हकहित संरक्षण, बजारको विकास तथा विस्तारको लागि थप हौसला मिलेको छ’, उनले भने, ‘यस कार्यमा बोर्ड प्रतिबद्धसमेत रहेको छ।’ 

भद्रकालीबाट सुरु भई भृकुटीमण्डपमा समापन भएको प्रभातफेरीमा धितोपत्र बजार सम्बद्ध पक्ष, बीमा तथा सहकारीसम्बद्ध पक्ष र बैंक वित्तीय संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता थियो। 

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ, रेटिङ संस्थाहरु, स्टक ब्रोकर एसोसियसन अफ नेपाल र मर्चेन्ट बैंकर्स एसोसियसन अफ नेपाल, नेसनल बैंकिङ इन्स्टिच्युट र सम्बद्ध संस्थाहरुको सहभागिता थियो।