काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले ताजा तथ्यांक र अवस्थाले देशको अर्थतन्त्रमा ठूलो संकट नआएको देखाउने भन्दै अनावश्यक प्रचारबाजी नगर्न आग्रह गरेका छन् । 

अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री शर्माले अर्थतन्त्रमा ठूलो संकट आएको भनेर कुप्रचार गरिएको उल्लेख गर्दै भने–‘यसमा राजनीतिकरण नगरौं । व्यवसायी र जनतालाई हतोत्साही गर्ने गरी प्रचारबाजी भइरहेको छ । यो कसैले नगरौं ।’ 

उनले अर्थतन्त्रको बाह्य क्षेत्र दवाबमा परेको र विश्व परिवेशका कारण पनि यस्तो समस्या आएको उल्लेख गर्दै सतर्क बन्नुपर्ने बेला भने आएको दाबी गरे । ‘हामी धेरै उपायमा जानुपर्नेछ । हामी यसमा गम्भीरतापूर्वक लागेका छौं । अर्थमन्त्री र मातहतका सबै निकायका अधिकारी हामी यसमा लागेका छौं ।’–उनले भने । 

उनले रेमिटान्स कम्पनीहरुलाई पनि मोवाइल वालेट उपलब्ध गराउने, विदेशमा रहेका श्रमिकहरुलाई आइपीओ र एफपीओ जारी गर्दा विशेष कोटा छुट्याउने, गैरआवासीय नेपालीलाई ५ करोडसम्मको लगानी सीमाको परिमार्जन, आयात नियन्त्रण लगायतका लागि अर्थमन्त्रालयले काम गरिरहेको र नीतिगत व्यवस्थामार्फत अगाडि बढिने दाबी गरे । 

घट्दो विदेशी मुद्रा सञ्चिती बढाउन बैंकमार्फत रेमिट भित्र्याउने, बिलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको वातावरण तयार गर्ने, वदैशिक सहायताको शोधभर्ना समन्वय प्राप्त गर्ने, पूँजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने लगायतका विषयमा समेत काम भइरहेको दाबी गरे ।