काठमाण्डौ । तिहार सकिएलगत्तै पूँजीबजारले ग्रिन सिग्नल देखाएको छ । 

दशैं र तिहारको अवधिमा अधिकांश समय ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको बजारले बिहीबार भने उकालो  यात्रा तय गरेको हो । 

बिहीबार नेप्से परिसूचक २.५ अंकले बढेर १७६२.२१ अंकको उचाईमा पुगेको हो । 

बजारमा बित्तीय समूहले दबदबा कायम गरेको छ । वाणिज्य बैंक, विकास बैंक र बित्त समूह उकालो लाग्दा बाँकी सबै समूहमा रातो पोतिएको छ । 

सबैभन्दा धेरै विकास बैंक समूहको सूचक २६.११ अंकले बढेको छ । वाणिज्य बैंक समूह ३.४९ अंकले उक्लिएको छ भने बित्त समूहमा ०.७३ अंकको  बढोत्तरी देखिएको छ । 

बिमा समूह ३१.२१ अंकले घटेको छ । होटल समूह ७.९७, जलविद्युत समूह ६.१३ र अन्य समूह ९.८३ अंकले घटे । 

बिहीबार १२१ कम्पनीको कुल ८ लाख ७२ हजार कित्ता सेयर ५३ करोड ८५ लाखको किनबेच भयो । 

धेरै कारोबार गर्ने कम्पनी
कुल कारोबारको ५० प्रतिशत भन्दा बढी कारोबार वाणिज्य बैंकहरुले गरे । यो समूहले कुल २५ करोड ३० लाख बराबरको कारोबार गर्यो । यस्तै, विकास बैंक समूहले १२ करोड ७४ लाखको कारोबार गर्यो । बिमा समूहले ११ करोड २४ लाखको मात्र कारोबार गर्यो । 

सबैभन्दा बढी सिभिल बैंकले ११ करोड बराबरको कारोबार गर्यो । छिमेक लघुवित्त विकास बैंकले ५ करोड ५५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ३ करोड ८० लाख, मुक्तिनाथ विकास बैंकले ३ करोड ४४ लाख, एभरेष्ट बैंकले ३ करोड ४२ लाख, शिखर इन्स्योरेन्सले ३  करोड बराबरको कारोबार गरे । 

धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी र २ स्थान विकास बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था र जनउत्थान  सामुदायिक लघुवित्त विकास बैंकले पैसा छापे । यी दुई कम्पनीले १० प्रतिशतले आफ्नो सेयरको मूल्य बढाए । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतले बढेको छ भने सिर्जना फाइनान्स बित्तीय संस्थाको सेयर मूल्यमा पनि ८ प्रतिशतले वृद्धि भयो । छिमेक लघुवित्त विकास बैंक र मुक्तिनाथ विकास बैंकले पनि सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढेको छ । 

बिहीबार मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाउनुपर्यो । यो बैंकको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो । महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडको सेयर मूल्यमा पनि ४ प्रतिशतको गिरावट आयो ।