काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ।
नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन परिसंघले आग्रह गरेको हो। परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि राजदूत भोल्कसमक्ष आग्रह गरेको छ।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे। ‘नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसर छन्’, उनले भने।
अग्रवालले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई झनै मजुबत बनाउनका लागि संस्थागत रुपमा व्यावसायिक क्षेत्रहरुको पहिचान र पहलमा ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागि आफूले पहल गर्ने बताइन्। उनले अस्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरुमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि उल्लेख गरिन्।
छलफलमा उपस्थित क्षेत्रगत विज्ञहरुले कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, जलविद्युत विकासमा रहेका अवसर, नेपालमा अस्ट्रेलियाको विश्वविद्यालयको उपस्थितिसहित गुणस्तरीय शिक्षाको विस्तारमा जोड दिए। यसैगरी नेपालमा सञ्चालित व्यावसायिक तालिमहरुलाई अस्ट्रेलियामा समेत मान्यता गराउनका लागि आवश्यक नीतिगत सहजीकरण हुनुपर्नेमा उनीहरुको जोड छ।
छलफलमा परिसंघका उपाध्यक्ष राजबहादुर शाह, शिक्षा परिषद्का सभापति द्विराज शर्मा, पर्यटन समिति सभापति पम्फा धमला, कृषि परिषद सभापति विकास दुगर, एफडीआई समिति सभापति साइबल घोस र परिसंघको एड्भाइजर्स काउन्सिलका सदस्य डा रामहरि लामिछाने एवं शिक्षा परिषदका सदस्यहरुको उपस्थिति थियो।
अष्ट्रेलियाली दूतावासको तर्फबाट बरिष्ठ व्यापार तथा लगानी कमिसनर डा मोनिका केन्नेडी, रोशन पल, कन्सुलर ब्रेट गाल्ट स्मिथ र पोलिसी एड्भाइजर प्रिया राजाको उपस्थिति रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago