काठमाण्डौ । देशभर आज स्थानीय तह निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ। 

देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो। मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ। स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा हुँदैछ।

मतदान केन्द्रहरुमा मतदाता आफ्ना जनप्रतिनिधिलाई भोट हाल्न लाइनमा लाग्ने क्रम सुरु भइसकेको छ। 

आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन्। यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा १–१  अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ अध्यक्ष, सोही संख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन्।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। 

वि.सं. २०७४ को स्थानीय तह निर्वाचन भने वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणमा सम्पन्न भएको थियो।