– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ पारित गरी कार्यान्वयनका लागि नेप्सेमा पठाएको छ। नेप्सेले विनियामवाली कार्यान्वयन गर्न कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाइसकेको छ। 

लामो समयसम्म सेबोनबाट पारित हुन नसकेको पोलिसी एकाएक सेबोनमा नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल आएको झन्डै २.५ महिनामा पारित भएको छ। हमाल पारित भएको पोलिसी अहिलेसम्मको नै उत्कृष्ट भएको दाबी गर्दै आएका छन्।

सेबोनका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना हुँदा पनि ब्रोकर, उद्योगीका साथै अन्य समूहले एपीआई पोलिसी आफ्नो स्वार्थअनुरुप पारित गर्न तीव्र लबिङ गरेको सेबोनकै कर्मचारीहरु बताउँछन्। तर, ढुंगानाले पारित गर्न नसकेको पोलिसी हमालले अध्यक्षमा नियुक्ति भएको केही महिनामै पारित गरे।

सेबोनले पारित गरेको विनियामवालीको २१ (ख) को उपविनियम २ मा विदेशी कम्पनीमार्फत टीएमएस स्थापना गर्ने स्थानीय प्रतिनिधिको वित्तीय क्षेत्रमा ३ वर्ष कार्यानुभव हुने भनिएको छ। उक्त उपविनियमले ५० वटा ब्रोकरले ‘क्याप टेक नेपाल’ मार्फत आफ्नै टीएमएस सञ्चालनमा ल्याइने बाटो बन्द गरिदिएको छ। क्याप टेक नेपालको बोर्डले निर्धारण गरेको योग्यता नपुग्ने भएकाले कम्पनीले टीएमएस ल्याउन अर्को स्थानीय प्रतिनिधि नियुक्ति गर्नुपर्ने हुन्छ। 

केही ब्रोकर सञ्चालकका अनुसार क्याप टेकले उक्त मापदण्डअनुसार योग्य प्रतिनिधि खोज्ने प्रक्रिया अघि बढाइसकेको छ।

त्यस्तै विनियामवालीको उपविनियम ४ मा ‘नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र धितोपत्र बजारको विद्युतीय कारोबार प्रणालीको सञ्चालन तथा मर्मतसम्बन्धी कार्य एउटै सेवा प्रदायक संस्था वा कम्पनीले नपाउने’ उल्लेख छ। उक्त उपविनियमअनुसार अहिले टीएमएस सञ्चालन गरिरहेको कम्पनी वाईकोले पनि टीएमएस बनाउन नपाउने भएको छ।

लामो समयसम्म सेबोन, नेप्से र अर्थ मन्त्रालयसम्म एपीआई पोलिसीका लागि लबिङ गरिएको भनिएको वाइको र क्याप टेक नेपालले नै टीएमएस बनाउन नपाउने भएपछि बोर्डले पारित गरेको पोलिसीअनुरूप टीएमएस ल्याउन को योग्य छ त?

ब्रोकरबाट वार्षिक लाखौँ रुपैयाँ शुल्क लिन पाइने साथै डाटाको पहुँच पनि हुने भएकाले टीएमएस हत्याउन इसेवा, डिजीकम, ब्रोकर, ठूला लगानीकर्ताका साथै अन्तर्राष्ट्रिय भेन्डर कम्पनीहरु निरन्तर प्रयासरत छन्। आफूअनुरुप एपीआई पोलिसी ल्याउन उनीहरुले तीव्र लबिङ गरिरहेको सेबोन स्रोत बताउँछन्। श्रोतका अनुसार आफूअनुरुप एपीआई पोलिसी ल्याउन सफल भने ‘डिजीकम’ भएको छ। डिजीकमले श्रीलंकाको कम्पनीसँग सहकार्य गरी टीएमएस ल्याउने तयारी गरिरहेको स्रोत बताउँछ। 

२०७३ मा स्थापना भएको डिजीकमको सेबोनले निर्धारण गरेको सबै योग्यता पुग्छ। डिजीकममा दिप्ती सिंह, हृदयशोर सिंह, मायादेवी आचार्य, लोकराज शर्मा, स्केलर इन्टरनेसनल, एकम टेकलगायतको लगानी रहेको छ।

डिजीकमका सञ्चालकहरुले ‘बालुवाटार’बाट सीधै एपीआई पोलिसीमा हस्तक्षेप गर्न सफल भएको सेबोन स्रोत बताउँछ। ‘डिजीकममा एनआरएनदेखि लिएर पहुँचवालाहरुको लगानी रहेको छ। सेबोन अध्यक्षको पनि बालुवाटारबाटै नियुक्ति भएको भन्ने सुनिन्छ’, स्रोतले भन्यो, ‘त्यसैले एपीआई पोलिसी आफूअनुरुप पारित गरी टीएमएस आफ्नो हातमा हत्याउन डिजीकम सफलताको नजिक पुगेको छ।’ 

पारित भएको पोलिसीअनुसार क्याप टेकमार्फत टीएमएस ल्याउन नपाउने भएसँगै ब्रोकरहरुले पनि डिजीकमसँग नै सहकार्य गरी टीएमएस ल्याउने प्रक्रियाबारे छलफल अघि बढाएको एक ब्रोकर सञ्चालकले बताए।