– अनन्त्य सुन्दर
काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज बृहत प्रदर्शन गरेका छन्। यतिबेला लगानीकर्ताहरुले बानेश्वरमा कोणसभा गरिरहेका छन्।
कोणसभामा सहभागी अधिकांश लगानीकर्ताका नेताहरुले सरकार र नियामक निकायका पछिल्ला पुँजीबजार निरुत्साहित पार्ने खालका नीतिको विरोध गरेका छन्।
कोणसभालाई सम्बोधन गर्दै नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले नियामकका पछिल्ला कदमहरुको चर्को विरोध गरे। ‘त्यस्ता अनुचित कदमविरुद्ध आज हामी सडकमा उत्रिन बाध्य भएका छौँ’, उनले भने।
रौनियारले देशका अधिकांश क्षेत्रका नागरिक अहिले पुँजीबजारमा जोडिएको त्यसतर्फ सचेत रहन सम्बन्धित पक्षलाई आग्रह गरे। ‘कहिले ५१ कम्पनीको सूची निकाल्ने, सीसीडी रेसियो हटाउने, ४–१२ को क्याप ल्याउने व्यवस्थाले पुँजीबजार प्रभावित भएको छ’, उनले भने, ‘त्यस्ता व्यवस्था तत्काल खारेज गर्नुपर्छ।’
रौनियारले एक हप्ताभित्र राम्रो कुरा सुन्न पाइन्छ भन्ने आशा रहेको पनि बताए।
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले अब झुटो आश्वासका दिन सकिएको बताए। ‘पुँजीबजारमैत्री नीति नल्याउनेलाई आगामी निर्वाचनमा सबक सिकाउने छौँ’, उनले चेतावनी दिए, ‘आवश्यक परे हामी (लगानीकर्ता) आफैँ राजनीतिमा आउने छौँ।’
सक्रिय लगानीकर्ता हरि ढकालले संसद केही सांसदहरुले पुँजीबजार कुरा उठाएकोमा सकारात्मक रहेको बताए। ‘तर, यही बानेश्वरबाट ती सांसदलाई म भन्न चाहन्छु कि संसदको रोस्टममा मात्रै पुँजीबजार कुरा नउठाइयोस्, त्यहाँबाट बाहिर आएर नियामक निकायलाई सचेत गराइयोस्’, उनले भने।
ढकालले काठमाण्डौबाहिरका लगानीकर्ताहरुलाई जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलन गर्न आह्वान पनि गरे। ‘लगानीकर्ताको शक्तिलाई चानचुने नसम्झियोस्’, उनले भने।
प्रदर्शनमा उत्रिएका लगानीकर्ताहरुले पुँजीबजारमैत्री नीति लागू गर्न, नीतिगत भ्रष्टाचार अन्त्य गर्न, बैंकलाई ब्रोकर लाइसेन्स दिन, सीसीडी रेसिया कायम गर्न, ४–१२ को क्याप हटाउन, बोनसमा लाभांश कर हटाउन, पुँजीगत लाभकर कम गर्न, स्थिर ब्याजदर कायम गर्न, १९ बुँदे माग पूरा गर्नजस्ता माग गरेका छन्।
आजको प्रदर्शनमा ब्रोकर र मर्चेन्ट बैंकहरुले ऐक्यबद्धता जनाउँदै सहभागी भएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago