काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य तत्काल रोक्न बैंक तथा ब्रोकरलाई आग्रह गरेका छन्।
लगानीकर्ताका १० वटा संघसंगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। ‘यस विषम परिस्थितिमा सेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरी बैंक आफैँले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य रोक्न सम्बन्धित बैंक र ब्रोकरहरुलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यदि एकतर्फी रुपमा लगानीकर्तालाई क्षति हुने गरी सेयर बिक्री भएमा कानुनी र अन्य उपचारका लागि हामी लगानीकर्ताका संघसंस्थाहरु एकताबद्ध रुपमा सक्रिय हुने चेतावनी पनि दिन चाहन्छौँ।’
विज्ञप्तिमा नेपालको पुँजीबजार सुधार र विस्तारका लागि सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु नगर्दा पुँजी बजारमा गम्भीर समस्या उत्पन्न भई लगानीकर्ताहरुको पलायन तीव्र भएको उल्लेख छ।
यस अवस्थामा सरकारले गर्छु भनेका कामहरु तत्काल गरी लगानीकर्ताहरुलाई आश्वस्त पार्न माग गर्दै लगानीकर्ताहरुका तर्फबाट तिलक कोइरालाको संयोजकत्वमा गठन भएको पुँजीबजार सुधार संघर्ष समितिले प्रस्तुत गरेको १९ बुँदे माग सबै लगानीकर्ता संघसंस्थाहरुको साझा माग भएको विज्ञप्तिमा स्पष्ट पारिएको छ। ती मागहरु अबिलम्ब पूरा गराउन घोषित संघर्षका कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण लगानीकर्ता र पुँजीबजारका सरोकारवालाहरुमा आह्वान पनि गरिएको छ।
विज्ञप्तिमा संघर्ष समितिले आज जेठ ३० गते राखेका सबै जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन र मागपत्र पेस गर्ने कार्यक्रममा व्यापक सहभागिता जनाउन आग्रह गरिएको छ।
यसैगरी जेठ ३१ गते काठमाण्डौमा हुने विशेष कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण लगानीकर्तामा विज्ञप्तिमा अपिल गरिएको छ।
यसपटक आन्दोलनले ठोस उपलब्धि हासिल नगरेसम्म मैदान नछाड्ने लगानीकर्ताहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। ‘नियमनकारी निकायले हामी प्रतिशोध साँधेमा त्यसको एकताबद्ध प्रतिवाद गर्ने अठोट व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
सरकारले तत्काल १९ बुँदे माग कार्यान्वयन नगरेमा उत्पन्न हुने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुने विज्ञप्तिमा चेतावनी दिइएको छ।
विज्ञप्तिमा तिलक कोइराला (संयोजक, पूँजी बजार सुधार संघर्ष समिति), अम्बिकाप्रसाद पौडेल (अध्यक्ष, पुँजीबजार फोरम, नेउवा महासंघ), तुलसीराम ढकाल (अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम), उत्तम अर्याल (अध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल), प्रकाश रजौरे (महासचिव, नेपाल धितोपत्र लगानीकर्ता संघ), रोहन कार्की (अध्यक्ष, नेपाल स्वतन्त्र पुँजीबजार संघ), राधा पोख्रेल (अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ), हरि ढकाल (अध्यक्ष, सेयर लगानीकर्ता दबाब समूह), सुशील लुनिया (अध्यक्ष, स्वतन्त्र पुँजीबजार सुधार संघ) र सुदर्शन पाठक (अध्यक्ष, लगानीकर्ता हित संरक्षण मन्च) ले हस्ताक्षर गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago