काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित पदाधिकारी र नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्तो सुवोलोबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ।

भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ र महानिर्देशक गोकर्णराज अवस्थीको उपस्थिति थियो।  

त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष दिनेश श्रेष्ठसँग नेपालका लागि चिलिका राजदूत जुआन रोलान्डो अङगुलो मोनसाल्भेले महासंघ सचिवालयमा भेटवार्ता गरेका छन्। 

ती दुवै भेटवार्तामा महासंघका तर्फबाट नेपालमा इन्डोनेसिया र चिलीको लगानीका लागि कूटनीतिक माध्यमबाट सहयोग हुन आग्रह गरिएको थियो। दुवै मुलुकसँग नेपालको द्विपक्षीय व्यापारको आंकडा अत्यन्त न्यून रहेको पाइन्छ। 

महासंघमा उपलब्ध पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपाल इन्डोनेसियाबीचको आयात–निर्यात क्रमशः रु. १७ अर्ब र रु. २६ करोड देखिन्छ भने नेपाल चिली आयात–निर्यात क्रमशः रु.९ करोड र रु. ९३ लाखमात्र छ। संयुक्त लगानी नगण्य नै देखिन्छ। 

तथ्यांकअनुसार नेपालमा इन्डोनेसियाको रु. ३५ करोड र चिलीको रु. ३० करोडको मात्र संयुक्त लगानी रहेको छ। 

भेटवार्तामा द्विपक्षीय व्यापार विस्तारमा विशेष जोड दिइयो। ‘के गर्दा व्यापार विस्तार गर्न सकिन्छ, त्यसमा सहयोग गर्न हामी तयार छौँ’, भेटवार्तामा महासंघका तर्फबाट प्रतिबद्धता व्यक्त भएको थियो। 

यसका लागि दुवै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्ध विस्तार, व्यावसायिक तथा लगानी भ्रमणको आदानप्रदानमा जोड दिइयो।

नेपालको भौगोलिक अवस्थिति र यहांको सस्तो श्रमशक्तिका कारण नेपालमा वस्तुु उत्पादन गरी भारत तथा चीनको बजारमा निर्यात गर्न सकिने पर्याप्त सम्भाव्यता रहेको पनि जानकारी गराइयो। नेपाल सरकार र निजी क्षेत्र बाह्य लगानी आकर्षणमा निरन्तर लागीरहेको र सरकारी नीति पनि सोहीअनुसार बाह्य लगानीमैत्री रहेको भेटवार्तामा बताइयो। नेपालमा कृषि, पूर्वाधार विकास, पर्यटन, उर्जा, सूचना तथा प्रविधि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानीको अथाह सम्भाव्यता रहेको पनि स्पष्ट पारियो। 

छुट्टाछुट्टै भेटवार्तामा राजदूतहरुले आपसी आर्थिक तथा निजी क्षेत्रबीचको सम्बन्ध विस्तार र लगानी आकर्षणमा आफ्नोतर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्। यसका साथै उनीहरुले दुवै देशका निजी क्षेत्रबीच समन्वयनका लागि पनि सहयोग गर्ने विश्वाससमेत दिलाए।

दुवै भेटवार्ता शुक्रबार सम्पन्न भएको थियो।