काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ।
अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रहिआएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे। ‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ’, उनले भने।
विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलरबराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिए। पछिल्लो समय नेपालका लागि विश्व बैंकको बित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ।
सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो। हालसम्म तीन अर्ब अमेरिकी डलरबराबरको २५ आयोजनामा सहकार्य भएको छ।
केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए। ‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ’, उनले भने।
आर्थिक वर्ष २०७९–८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको शर्माले जानकारी गराए। ‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान विन्दुका रुपमा उल्लेख गरेको छु’, उनले भने।
भेटमा विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताइन्। नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै उनले आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराइन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago