– रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंक घेराउ गर्न अगाडि बढिरहेका सेयर लगानीकर्ताहरुलाई सुरक्षाकर्मीहरुले भाटभटेनीको पिपलबोट रोकेका छन्। 

सुरक्षाकर्मी अगाडि बढ्न नदिएपछि सयौँमा रहेका लगानीकर्ताहरु पिपलबोटबाटै फर्किने भएका छन्। लगानीकर्ताका केही नेताहरुमात्रै १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउन राष्ट्र बैंक जाने तयारी गरिरहेका छन्। ‘को–को जाने भनेर हामी छलफल गर्दैछौँ’, स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले भने।

पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गर्ने कार्यक्रम थियो। 

गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज काठमाण्डौको नक्सालस्थित गहनापोखरीमा भेला भएका लगानीकर्ता नाराबाजी गर्दै बालुवाटारस्थित राष्ट्र बैंकतर्फ अगाडि बढिरहेका थिए। तर, उनीहरुलाई सुरक्षाकर्मीहरुले भाटभटेनीको पिपलबोटमा रोके। 

यसअघि प्रदर्शनमा उत्रिएका लगानीकर्ताहरुले पुँजीगत लाभकर ३ प्रतिशत कायम गर, ब्रोकर कमिसन कम गर, बैंकलाई ब्रोकर लाइसेन्स दे, ४–१२ को नीति खारेज गर, सीसीडी रेसियो कायम गर, अनावश्यक हस्तक्षेप बन्द गर, नीतिगत भ्रष्टाचार अन्त्य गर, १९ बुँदे माग पूरा गरजस्ता नारा लगाएका थिए।