– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारका लगानीकर्ताहरुले गत आर्थिक वर्ष २०७८/७९ मा क्लोजआउटबापत झन्डै १० करोड रुपैयाँ जरिवाना तिरेका छन्। 

सीडीएससीबाट प्राप्त तथ्यांकअनुसार गत आर्थिक वर्ष लगानीकर्ताले क्लोजआउटबापत ९ करोड ७८ लाख रुपैयाँ जरिवाना तिरेका छन्। यद्यपि यो रकम अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा झन्डै ५ करोड ५६ लाख रुपैयाँले कम हो। अघिल्लो वर्ष क्लोजआउटबापत लगानीकर्ताले १५ करोड ३५ लाख रुपैयाँ जरिवाना तिरेका थिए। 

समयमै सेयर राफसाफ हुन नसक्दा लगानीकर्ता क्लोजआउटमा पर्ने गरेका छन्। 

यसैगरी गत आर्थिक वर्षमा सरकारले पुँजीबजारबाट उठाउन राखेको राजस्वको लक्ष्य पूरा हुन सकेन। 

गत वर्षको बजेटमा सरकारले पुँजीबजारबाट मात्रै १५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर, गत वर्षमा १० अर्ब ३५ करोड ३० लाख रुपैयाँबराबरको मात्र राजस्व पुँजीबजारबाट सरकारले प्राप्त गरेको छ। 

गत आर्थिक वर्षको राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ४ अर्ब रुपैयाँले कम हो। अघिल्लो वर्ष सरकारले पुँजीबजारबाट १४ अर्ब १३ करोड ६१ लाख रुपैयाँबराबरको राजस्व प्राप्त गरेको थियो। 

गत आर्थिक वर्षको सुरुआतदेखि नै नियामक निकायको कठोर नीतिका कारण पुँजीबजार खस्किँदै गएको थियो। जसका कारण पुँजीबजारबाट उठ्ने राजस्वमा पनि कमी आएको हो।