– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले पुँजीबजारमा उच्चस्तरको प्रविधि भित्र्याइने बताएका छन्।
सेबोन चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै अध्यक्ष हमालले यस्तो घोषणा गरेका हुन्। ‘बजारको सुधार र विकासका लागि उच्चस्तरको प्रविधि भित्र्याउने छौँ’, उनले भने, ‘त्यसका लािग धितोपत्र तथा वस्तु विनियम बजारको विकास गरी आईओएससीओको मापदण्डअनुरुपको बनाइनेछ। धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता, जनशक्ति सबलीकरण, नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगलाई प्राथमिकता राखेका छौँ।’
अध्यक्ष हमालले बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रुपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रुपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने नीति लिइने बताए। ‘नेपालको पुँजीबजारमा लगानी गर्न गैरआवासी नेपालीलाई सहज तरिका अपनाइनेछ’, उनले भने।
लगानीकर्ताको हकहित संरक्षणका लागि धितोपत्रसम्बन्धी कानुनविपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउनुका साथै बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित रेगटेकमार्फत चुस्तदुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने लक्ष्य पनि सेबोन लिएको अध्यक्ष हमालले बताए।
उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने एवं साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईजका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजीबजारमा आबद्ध गर्ने सेबोनले योजना बनाएको हमालले बताए।
समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने कार्य सेबोनले प्राथमिकतामा राखिएको अध्यक्ष हमालले बताए। ‘वस्तु विनियम बजार सञ्चालनको व्यवस्था मिलाउने छौँ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago