अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसदमा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् ।

कार्की निकट स्रोतका अनुसार महाभियोग लगाउने निर्णय कानुनसम्मत नभएको तथा आफूमाथि भ्रष्टाचारमा छानविन हुन लागेपछि एमाले र माओवादी नेताहरुले बदनियत राखेर प्रस्ताव ल्याएको दाबी गर्दै मुद्दा दर्ता गर्न लागिएको हो ।

महाभियोग प्रस्तावमा सांसदलाई झुक्याएर सहीछाप गराई संख्या पुर्‍याएको दाबी कार्कीका तर्फबाट गर्ने तयारी भएको स्रोतले बताएको आजको नागरिक दैनिकमा समाचार छ ।

कार्कीका एक कानुन व्यवसायीले सोमबार सर्वोच्चमा दुई निवेदन दर्ता गर्नेगरी तयारी भइरहेको बताए ।

अदालतमा आफूविरुद्ध परेको योग्यतासम्बन्धी मुद्दा र संसदमा दर्ता महभियोग प्रस्तावविरुद्ध रणनीति बनाउन कार्की कानुनी सल्लाहकारसँग छलफलमा जुटेका छन् । करिब एक दर्जन कानुन व्यवसायीसँग आइतबार कार्कीले आफूविरुद्धको मुद्दा अदालतमा पेसी चढ्ने र त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा राय मागेका थिए ।

कार्कीले पूर्वमहान्यायाधिवक्ता महादेव यादव, कोमलप्रकाश घिमिरे, बालकृष्ण न्यौपाने, बाबुराम कुँवर लगायतसँग परामर्श गरेका थिए । उनीहरुले अदालतमा मुद्दा फेस गरेर जानुपर्ने सुझाव दिएका थिए ।