– रेखा चन्द

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरुलाई आग्रह गरेका छन्। 

निक्षेप तथा कोष सुरक्षण कोषको आज आयोजित ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन्। ‘आयात प्रतिस्थापन गर्ने सरकारको लक्ष्य रहेको छ’, उनले भने, ‘बजेटको मूल उद्देश्य पनि आयात प्रतिस्थापन नै रहेको छ। त्यसैले कृषि क्षेत्रमा बजेट वृद्धि गरिएको छ। बैंकहरुलाई कृषिलगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्छु।’

अर्थमन्त्री शर्माले अहिले खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मार खेप्नुपरिरहेको बताए। ‘त्यसैले उत्पादन वृद्धि गर्ने सरकारको उद्देश्य हो’, उनले भने, ‘त्यसका लागि ग्रामीण अर्थतन्त्रलाई जोड दिनुपर्छ।’

अहिले बैंकहरुको कर्जा लगानीमा केही नीतिगत व्यवस्था बदल्नुपर्ने अवस्था रहेको शर्माले बताए। ‘कृषि योजनाका लागि ऋण लिने र त्यो पैसाले जग्गा किन्ने प्रवृत्ति बढ्दो छ’, उनले भने, ‘त्यस्ता कार्य रोक्न बैंकहरु चनाखो हुनुपर्छ।’

शर्माले विपन्न र कमजोर वर्गको उत्थानका लागि सहुलितपूर्ण ऋण पुर्याउन आवश्यक रहेको बताए। ‘लघुवित्त कोषमार्फत विपन्न वर्गलाई लगानी गर्ने तयारी भइरहेको छ’, उनले भने।