काठमाण्डौ । के तपाइँ पनि ह्वाट्सएपमा ‘गुड मर्निङ’ टेक्स्ट म्यासेज पठाउनुहुन्छ? यदि तपाइँ पनि आफ्ना साथीहरुलाई ह्वाट्सएपमा धेरै ‘गुड मर्निङ’ म्यासेज पठाउनुहुन्छ भने अब सावधान हुन आवश्यक छ। यसले तपाइँको ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध लाग्न सक्छ। 

एक रिपोर्टका अनुसार कम्पनीले यसलाई स्प्याम मान्न सक्छ र तपाइँको ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध लगाउन सक्छ। यसबाहेक यदि तपाइँले धेरै व्यक्तिलाई गलत सूचना वा म्यासेज फरवार्ड गर्नुभयो भने ह्वाट्सएप अकाउन्ट प्रतिबन्धित हुन सक्छ।

लाखौँ प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्ट धेरैपटक प्रतिबन्धित भएको खबर पनि सुन्नमा आउँछ। यी अकाउन्ट कम्पनीको नीति उल्लंघनका लागि प्रतिबन्धित गरिएका हुन्। 

कम्पनीले धेरै कारण दिएको छ। जसका कारण तपाइँको ह्वाट्सएप अकाउन्ट पनि प्रतिबन्ध हुन सक्छ। 

ह्वाट्सएपको ब्रोडकास्ट प्रसारण सुविधाको गलत प्रयोगले तपाइँको अकाउन्ट प्रतिबन्धित हुन सक्छ। यो सुविधा बल्क म्यासेजहरु पठाउन प्रयोग गरिन्छ। यद्यपि म्यासेज प्राप्त गर्ने मानिसहरुले तपाइँको नम्बर पनि सेभ गरेको हुनुपर्छ।

यदि तपाइँले अनुमति बिना कसैलाई ह्वाट्सएप ग्रुपमा एड गर्नुभयो भने तपाइँको अकाउन्ट प्रतिबन्धित हुन सक्छ। यदि कसैले ह्वाट्सएपमा म्यासेज गर्न अस्वीकार गरेमा उसलाई म्यासेज गरेर डिस्टर्ब नगर्न पनि कम्पनीले चेतावनी दिएको छ। नत्र अकाउन्ट ब्लक गर्न सकिने कम्पनीले जनाएको छ।

ह्वाट्सएपका नीति–नियम उल्लंघन गरेमा पनि प्रयोगकर्ताको अकाउन्टमा प्रतिबन्ध लाग्न सक्छ। यदि तपाइँलाई लाग्छ कि तपाइँको अकाउन्ट गल्तीले प्रतिबन्धित भएको छ भने त्यसविरुद्ध अपिल पनि गर्न सक्नुहुन्छ। –एजेन्सी