काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान शिष्टाचार भेट भएको छ।

भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे। ‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ।’ 

शर्माले नेपाललाई अहिले ठूला पूर्वाधारहरु आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताए। यूएसएडलगायतका अमेरिकी नियोगहरुमार्फत नेपालमा निर्माण भइरहेका आयोजनाहरु सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे। 

त्यस्तै नेपालले पर्यावरणसम्बन्धी समस्याहरु भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको उल्लेख गर्दै शर्माले त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह गरे। 

भेटमा मन्त्री शर्माले नवनियुुक्त राजदूत थम्प्सनलाई उनको नेपाल बसाइ सुखद् होस् भन्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे। 

राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए। उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताए। ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’, उनले भने। 

राजदूत थम्प्सनले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको पनि बताए।