काठमाण्डौ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ह्वाट्सएपमा कम्युनिटी फिचरको रोलआउट गर्ने घोषणा गरेका छन्। यो फिचर आजदेखि विश्वव्यापी रुपमा रोलआउट गरिएको छ। यद्यपि, सबैलाई यो सुविधा प्राप्त गर्न केही समय लाग्न सक्छ।

कम्पनीले यो वर्षको सुरुआतमा ह्वाट्सएपको कम्युनिटी फिचरका बारेमा घोषणा गरेको थियो। कम्पनीले विभिन्न क्षेत्रमा परीक्षण गरिरहेको थियो । यो फिचरको मद्दतले प्रयोगकर्ताहरु ग्रुपमा कनेक्ट हुन सक्नेछन्। यो ग्रुपभित्रको ग्रुप हो। अर्थात् ग्रुपमा प्रयोगकर्ताले सब–ग्रुप बनाएर आफूले चयन गरिएका व्यक्तिहरुलाई म्यासेज पठाउन सक्नेछन्। 

ह्वाट्सएप कम्युनिटी फिचरका साथ कम्पनीले छिमेक, विद्यालय र कार्यस्थलमा अभिभावकहरुलाई लक्षित गर्नेछ। प्रयोगकर्ताले ठूलो ग्रुपमा पनि धेरै अन्य मल्टिपल ग्रुप कनेक्ट गर्न सक्नेछन्। यसका लागि कम्पनीले १५ देशमा ५० भन्दा बढी संस्थासँग काम गरिरहेको छ ।

कम्युनिटी फिचर कसरी प्रयोग गर्ने ?

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले एन्ड्रोइड मोबाइलमा च्याटको टपमा रहेको कम्युनिटी ट्याबमा क्लिक गर्न सक्छन्। जब कि आईओएसमा तलको भागमा हुनेछ। त्यहाँबाट प्रयोगकर्ताले नयाँ ग्रुप वा पहिले थपिएको ग्रुपबाट कम्युनिटी सुरु गर्न सक्छन्।

कम्युनिटीमा प्रयोगकर्ताले सजिलै ग्रुपमा पनि स्विच गर्न सक्छन्। एडमिनले कम्युनिटीका सबै सदस्यलाई आवश्यक जानकारी पठाउन सक्छ। यसबाट प्रयोगकर्ताले उच्चस्तरीय सुरक्षा र गोपनीयता पाउने कम्पनीले दाबी गरेको छ । यो सुविधाका साथ प्रयोगकर्ताले बेग्ला–बेग्लै ग्रुप बनाएर म्यासेज पठाउन आवश्यक पर्दैन।

कम्पनीले एन्ड–टु–इन्ड इन्क्रिप्सन प्रयोग गर्न जारी राख्ने बताएको छ। यससँगै कम्पनीले प्रयोगकर्ताको डाटामा पहुँचसमेत पाउने छैन । कम्युनिटीहरुबाहेक कम्पनीले थप तीन नयाँ फिचर पनि जारी गरेको छ।

अब प्रयोगकर्ताहरुले ३२ जनासम्मको भिडियो कलमा सामेल हुन सक्छन्। यसका साथै ग्रुपको आकार पनि ५१२ सदस्यबाट बढाएर १०२४ पुगेको छ । इन–च्याट पोलहरु ह्वाट्सएप ग्रुपमा पनि व्यवस्थित गर्न सकिन्छ। यो ग्रुपबाट सदस्यहरुले कुनै पनि मुद्दामा आफ्नो मत दिन सक्छन्। –एजेन्सी